राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आफ्नो पाँच वर्ष अवधिसम्म सञ्चालन गर्न दिनुपर्ने बताउनुभयो । विराटनगर विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै उहाँले कुनै पनि बहाना वा आन्दोलनबाट सरकारलाई असफल वनाउने कार्य उचित नहुने धारणा व्यक्त गर्नुभयो ।
उहाँले वर्तमान सरकारले कुनै पनि राम्रो काम गर्न नसकेको भए पनि देशी विदेशी तत्वको उक्साहटमा सडक आन्दोलन गरेर सरकारलाई असफल गराउने प्रयासले मुलुकमा थप द्वन्द्व निम्तिने खतरा रहेको टिप्पणी गर्नुभयो ।
उहाँले वर्तमान सरकारको नेतृत्वले मुलुकमा साना तथा ठूला जोसुकै भष्टाचार गर्नेलाई हिम्मतीलो भएर कारवाही गर्ने कार्यमा आफ्नो पार्टीको सदैव सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष थापाले विप्लव समूहलाई हिंसाको बाटो छाडेर वार्तामा आउन आह्वान गर्नुभयो । उहाँले सरकारले विप्लव समूहलाई राजनीतिक शक्तिका रुपमा मान्यता दिएर प्रतिबन्ध हटाउन पनि आग्रह गर्नुभयो ।
भारतबाट आयातित तरकारी र फलफूलको विषादी रोक्ने सरकारी निर्णय स्वागत योग्य भए पनि फिर्ता लिएको प्रति दुखः व्यक्त गर्नुभयो । उहाँले शनिबार धनकुटामा जिल्ला कार्य समितिको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।