राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक अनिल झाले नेपाल सरकारको अकर्मण्यताका कारण रौतहट डुबानमा परेको आरोप लगाएका छन् ।
झाले आफुले गर्नुपर्ने काम नगर्ने र भारतलाई गाली गर्ने प्रवृत्ति गलत भएको बताए । उनले भारतले आफ्ना जनताको सुरक्षाका लागि बाँध बाँधेको भन्दै नेपालले पनि किन बाँध नबाँधेको भन्दै प्रश्न गरे । झाले भारतलाई सराप्नु बेकारको कुरा भएको टिप्पणी गरे ।
‘भारतले आफ्ना नागरिकको सुरक्षा गर्न बाँध बनाएको हो’, शनिबार रिपोर्टर्स क्लबमा झाले भने, ‘हामीले पनि हाम्रो बाँध बाँध्नुपर्छ । भारतलाई सरापेर हुँदैन ।’ मधेसमा भने भारतले बाँधको ढोका नखोल्दा नेपाली भूमि डुबानमा परेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा ‘इण्डिया गो ब्याक’ भन्ने अभियान नै चलाइएको छ ।