सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले पक्राउ परेका मान्छे छाडेर फेरि बन्दुक भिर्न भिराउन विप्लवसंग वार्ता नहुने दाबी गर्नुभएको छ । बिहीबार मन्त्री परिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सुचना मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै बाँस्कोटाले सिके राउतझैँ आउने हो भने सरकार वार्तामा बस्न तयार रहेको तर वार्ता बस्ने तर निष्कर्षमा नपुग्ने हो भने सरकारको तर्फबाट वार्ता नबस्ने बताउनु भएको हो ।
सुचना तथा सञ्चार प्रविधि मन्त्री समेत रहनु भएका मन्त्री बाँस्कोटाले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा यदि हिंसा त्यागेर आउन तयार भएको अवस्था हो भने सरकार वार्ता बस्न तयार रहेको समेतथ बताउनुभयो । आफ्ना कार्यकर्तालाई रिहाईको लागि मात्र वार्ता गर्ने र बन्दुक भिरेर जंगल पस्ने बाटो खोल्ने हो भने सरकार कुनै हालतमा वार्ता गर्न तयार छैन, उहाँले भन्नुभयो ।
प्रतिबन्धित विप्लवप्रति कडारुपमा प्रस्तुत हुनुभएका मन्त्री बाँस्कोटाले ‘गन्तब्यबिनाको वार्ताले हिंसालाई वैधता दिने जिकिर गर्नुभयो । संविधान र राज्य व्यवस्था नै काम नलाग्ने बताउँदै हिँड्नेका कुरा अनुचित र गैरजिम्मेवार हुन् । असम्भव कुरामा वार्ता हुँदैन, उहाँले भन्नुभयो । विप्लव पनि सिके राउत जस्तै मुलधारको राजनीतिमा आउने हो भने सहज रुपमा वार्ता हुन्छ ।
तराईलाई छुट्टै राज्य बनाउने अभियानमा हिडेका सीके राउत जसरी नै शान्तिपुर्ण राजनीतिमा आउने हो भने सरकार वार्ताको लागि तयार छ, उहाँले भन्नुभयो । देशले यसअघि धेरै विपत्ति सहेको भन्दा अब देशलाई फेरी सोही दिशातिर धकेल्न चाहाँदैनौँ । ‘हिंसा छोडियो, संविधान मानियो,भन्ने हो भने एकै मिनेटमा वार्ता हुन्छ मन्त्री बास्कोटाले भन्नुभयो ।