नेपाल कम्युनिष्ट पार्टीले विभाग प्रमुखहरुको जिम्मेवारी टुंग्याउने कसरत थालेको छ । एकताका बाँकी काम पाँच गते आइतबार बस्ने सचिवालय बैठकले टुंग्याउनेगरि तयारी थालेको नेकपाले कुन विभागको जिम्मा कसलाई दिने भनेर छलफल चलाएको छ ।
नेकपामा रहने ३२ विभागमध्ये तत्कालिन एमालेलाई १८ र तत्कालिन माओवादी केन्द्रलाई १४ विभागको नेतृत्व प्रदान गर्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भइसकेको छ ।
तत्कालीन् एमालेको भागमा परेको संगठन विभाग र विदेश विभागको नेतृत्व सचिवालय सदस्यहरुले नै गर्ने भएको छन् । स्रोतका अुनसार संगठन विभागमा वामदेव गौतम र विदेश विभागमा माधवकुमार नेपाललाई पठाउने लगभग सहमति भइसहेको छ ।
विभागको नेतृत्व टुंगो लगाउन नेकपामा पूर्वएमालेका शीर्ष नेताहरुले बिहीबार बालुवाटार छलफल समेत गरेका छन् । सचिवालयमा प्रतिनिधित्व गर्ने ६ जना पूर्व एमाले नेताहरुले प्रधानमन्त्री निवास बालुवाटारमा छुट्टै छलफल गरेका हुन् ।
बालुवाटार बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल सहभागी थिए । बैठकले पार्टी एकीकरणका लागि माओवादीसँग गरेको सहमतिअनुसार अघि बढ्ने निर्णय समेत गरेको छ ।
बैठकमा अध्यक्ष ओली नेता गौतमलाई संगठन विभाग र विदेश विभाग प्रमुखको जिम्मा वरिष्ठ नेता नेपाललाई दिन करिब–करिब सहमत भएका बुझिएको छ ।
नेता नेपाल यसअघि तत्कालीन् एमालेमा विदेश विभाग प्रमुख थिए । तत्कालिन एमालेमा शक्तिशाली मानिने नेता गौतम बर्दियाबाट चुनाव हारेपछि भूमिकाबिहीन छन् । उनले पार्टीमा सक्रिय रहने गरी आफूलाई राम्रो जिम्मेवारी दिन अध्यक्षद्वयलाई आग्रह गर्दै आएका थिए
। पार्टीमा संगठन, स्कूल, विदेश, प्रचार, अर्थिक विभागलाई शक्तिशाली विभाग मानिन्छन् । तत्कालिन एमालेको भागमा परेका अन्य विभागहरुको नेतृत्व कसलाई दिने भन्नेबारेमा पनि मोटामोटी सहमति भएको बताइएको छ ।
बिहिबारको बैठकमा वरिष्ठ नेता झलनाथ खनाललाई अर्थ तथा योजना विभागको प्रमुख बनाउनेबारे छलफल भएको स्रोतले बताएको छ ।
तत्कालिन माओवादीको कोटामा परेका विभागको नेतृत्व कसले लिने भन्ने टुङ्गो लागेको छैन । पार्टी अध्यक्ष प्रचण्ड अस्वस्थ भएका कारण तत्कालिन माओवादीले आफ्ना भागमा परेका विभाग र आयोगको नेतृत्व टुंगाउन सकेको छैन ।
तत्कालिन माओवादीको भागमा शक्तिशालि मानिने प्रचार विभाग र आर्थिक विभाग परेको छ । स्रोतका अनुसार पार्टी प्रवक्तासमेत रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई अध्यक्षद्वय ओली र प्रचण्डले प्रचार विभागको नेतृत्व लिन आग्रह गरेका छन् । तर, श्रेष्ठले यसमा अनिच्छा प्रकट गरेका छन् । नेता श्रेष्ठले स्कूल विभागको प्रमुखमा दावी गर्दै आएका छन् ।
यस्तै, अर्को शक्तिशाली मानिने आर्थिक विभागको प्रमुखमा स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई बनाउनेबारे पूर्व माओवादी वृत्तमा करिब–करिब सहमति भएको छ ।