प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार तथा प्रधानमन्त्री मन नपरे फेर्न पाइने बताएका छन्। निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनसँग बुधबार भएको भेटमा उनले लोकतन्त्रमा प्रधानमन्त्री फेर्न मिल्ने बताएका हुन्। ‘लोकतन्त्र भनेकै यही हो, अहिलेको समय आन्दोलनको समय होइन,’ उनले भने, ‘संस्कार, योगदानको समय हो।’
ओलीले कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन खारेज नगर्ने पनि प्रष्ट पारे। ओलीले कर्मचारीको सहयोग विना सरकार एकलैले केही गर्न नसक्ने बताए । कर्मचारीहरुको उपयुक्त माग पूरा गर्ने आश्वासन दिँदै उनले आन्दोलनमा जाने धम्की नदिन आग्रह गरे ।
यसैबीच निजामति कर्मचारीको आधिकारिक ट्रेड युनियनले बाढी, पहिरो र डुबानपीडितको राहतका लागि १० लाख आर्थिक सहायता उपलब्ध गराएको छ।युनियन र युनियनमा आबद्ध राष्ट्रियस्तरका कर्मचारी संघ, संगठनहरूको पहलमा संकलन गरिएको सो रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् पीडितलाई राहत दिन हस्तान्तरण गरिएको युनियनका अध्यक्ष पुण्यप्रसाद ढकालले जानकारी दिए।