नेपाली कांग्रेसकी सांसद तथा छायाँ सरकारकी श्रममन्त्री डा. डीला संग्रौला पन्तले सरकार घमण्डी भएको आरोप लगाएकी छन् ।
मंगलवार बसेको प्रतिनिधि सभाको बैठकको शून्य समयमा बोल्दै संग्रौलाले विभिन्न आन्दोलनहरूले रैतीबाट जनता बनाएको तर वर्तमान सरकारले आन्दोलनकै अपमान गरिरहेको आरोप लगाएकी हुन् ।
‘यी जनआन्दोलनमा धेरै नेपाली जनताले देशको विकास र समृद्धिका लागि रगत बगाए तर आज जनताको रगतको बदला, भ्रष्टाचार, दलाली, विषादी र घमण्डले विगतमा बगेको रगतको अपमान गरिरहेको छ,’ संग्रौलाले भनिन्, ‘अपमानको नेतृत्व वर्तमान सरकारका नेताहरुले गरिरहेका छन् ।’
यो समग्र प्रजातन्त्रमाथि नै चुनौती भएको संग्रौलाको आरोप छ । ‘यो भन्दा ठुलो चुनौती प्रजातन्त्रको लागि के हुन सक्छ ? सभामुख महोदय !’ उनले प्रश्न गरिन्, ‘प्रजातान्त्रिक आन्दोलनको अपमान, जनतालाई अपमान र राष्ट्रलाई कमजोर बनाउने अधिकार कसैलाई हुँदैन ।’