संविधान संशोधन नगरे सरकार छाडेर सडकमा उत्रने चेतावनी

संविधान संशोधन नगरे सरकार छाडेर सडकमा उत्रने चेतावनी
राजनीति

समाजवादी पार्टी गण्डकी प्रदेश समितिले शुक्रबार पोखरामा गरेको पार्टी समायोजन तथा सपथ ग्रहण कार्यक्रममा उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले सरकार गठन भएको लामो समय भइसक्दा पनि सम्झौता बमोजिम संविधान संशोधन नगरिँदा शंका लागेको बताएकाछन् ।

‘सरकारले संविधान संशोधन नगरे सरकार छाडेर सडक र संसदमा संघर्ष गर्न समाजवादी पार्टी तयार रहेको उपप्रधानमन्त्री यादवले सुनाए । ‘हामी संसदमा पनि संघर्ष गरिरहेकै छौं । सरकारले नसच्याए सडकमा उत्रन पनि तयार छौं,’ उनले भने, ‘संविधानमा धेरै त्रुटि छ । त्यसलाई सच्याउने र परिमार्जित गर्ने सम्झौता भएरमात्रै हामी सरकारमा छौं ।’संविधान संशोधनका लागि सत्तापक्षको दुई तिहाइ मत पुर्यााउन सरकारमा बसिरहेको यादवको भनाइ छ । उपप्रधानमन्त्री यादवले देश संघीयतामा गए पनि प्रदेशलाई अधिकार दिन कञ्जुस्याइँ गरेर संघीयता समाप्त गर्ने काम भइरहेको आरोप लगाए ।

‘प्रदेशलाई बलियो बनाउन ठूला भनिने पार्टी, अझ भनौं कम्युनिस्ट पार्टी, कांग्रेस र केही राजावादी पार्टीले चलखेल गरिरहेका छन्,’ उनले भने ।संघीयतालाई स्थापित गर्न कम्युनिस्ट र कांग्रेस दुवैले चासो नदेखाएको उनको आरोप थियो । ‘प्रदेशका अधिकार संकुचित पारिएका छन् ।धेरै अधिकार केन्द्रको अधीनमा छन्,’ उपप्रधानमन्त्री यादवले भने, ‘तर जे होस् संघीयता विफल बनाउने दुष्प्रयास भइरहे पनि जसोतसो चलिरहेको छ ।’

उनले देशलाई जानाजान संघीयता बोकाइएको नभई ७० वर्षभन्दा बढी संघर्षपछि मात्रै प्राप्त भएको बताए ।

Post Comment