गृहमन्त्री रामबहादुर थापाले बाँकेमा कांग्रेस नेतामाथि हातपात गर्ने दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सिंहदरबारमा आज बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेस सांसद डीला संग्रौलाले बाँके घटनाबारे गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएपछि उहाँले सो प्रतिवद्धता जनाउनु भएको हो ।
गृहमन्त्री थापाले घटनामा संलग्न केहीलाई पक्राउसमेत गरिसकिएको र काबाहीसमेत भइसकेको जानकारी दिनुभयो । ‘यसबारेमा हाम्रो हिजो नै ध्यानाकर्षण भएको हो, कारबाही पनि भइसकेको छ। तीनजना पक्राउ परिसकेका छन् र अरुलाई खोजी जारी ,’ गृहमन्त्री थापाको भनाई थियो । बाँकेको टनालाई लिएर कम्युनिष्टले कांग्रेसलाई पिटेको भन्ने अर्थमा फेसबुकबाट प्रचारबाजी गरेर चरित्र हत्या भएको भन्दै त्यस्तो काम नगर्न गृहमन्त्री थापाले चेतावनीसमेत दिनुभयो । बाँकेको खजुरा गाउँपालिका वडा–२ सीतापुरस्थित नेपाल रेडक्रस सोसाइटीको हलमा वीपी जयन्ती मनाउने क्रममा विहीबार कांग्रेसका नेता कार्यकर्ताहरु कुटिएका थिए।
घटनामा बाँकेकी कांग्रेस सभापति किरण कोइरालाको हात भाँचिएको थियो भने विद्याप्रसाद खनाल लगायत केही कार्यकर्ता घाइते भएका कांग्रेसले जनाएको छ। आफूहरुमाथि नेकपाका कार्यकर्ताले कुटपिट गरेको कांग्रेसको आरोप छ।