सत्तारुढ नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकाले प्रस्ताव गरेको इण्डो प्यासिफक रणनीतिबारे आफूले चिनियाँ विदेशमन्त्रीसँग दिएको अभिव्यक्ति भन्दै बाहिर भइरहेका चर्चा निराधार रहेको भन्दै प्रतिवाद गरेका छन् ।
उनले इण्डो प्यासिफिक रणनीतिबारे अमेरिकाले नेपालसँग कुनै स्पष्टीकरण नमागेको बताए । केही दिनअघि नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यी सँगको भेटमा प्रचण्डले अमेरिकाको उक्त रणनीतिलाई ‘तथाकथित’ को उपमा दिँदै त्यसमा नेपाल संलग्न हुन नसक्ने अभिव्यक्ति दिएका समाचार आइरहेका बेला उनको यस्तो भनाइ आएको हो । प्रचण्डले चीनले आफ्नो भनाइ भनेर कुनै वक्तव्य नदिएको र अमेरिकाले पनि स्पष्टीकरण नमागेको दाबी गरे । प्रचण्डले चीनको परराष्ट्र मन्त्रालयले नभई त्यहाँको एक समाचार एजेन्सीले समाचार प्रकाशित गरेका भरमा हल्लाखल्ला मच्चिएको टिप्पणी गरे ।
यस्तै अमेरिकाको पनि राजदूत या स्टेट डिपार्टमेन्टले बोलेको नभई दूतावासमा कार्यरत एक कर्मचारीको हवाला दिएर आएको समाचारको आधिकारिकतामा प्रश्न उठाए । ‘मेरो भनाइ भनेर जसरी बाहिर चर्चा भइरहेको छ’, शनिबार इलाममा सञ्चारकर्मीसँग प्रचण्डले भने, ‘न चीनले त्यस्तो विज्ञप्ति जारी गरेको छ, न त अमेरिकाले नेपालसँग कुनै स्पष्टीकरण नै मागेको छ ।’ प्रचण्डले नेपाल असंलग्न परराष्ट्रनीतिमा प्रतिबद्ध रहेको भन्दै कुनै पनि शक्तिकेन्द्रको सैन्य गठबन्धनमा सामेल नहुने स्पष्ट गरे । यद्यपि नेपालको भूमि चीनविरुद्ध उपयोग गर्न नदिइने बताए ।
‘हामी कुनै शक्तिकेन्द्रको सैन्य गठबन्धनमा सामेल हुन सक्दैनौं’, उनले भने, ‘चीनविरुद्धका कुनै पनि गतिविधिमा नेपाल संलग्न हुन सक्दैन ।’ आफूले चिनियाँ परराष्ट्रमन्त्रीलाई त्यही भनेको उनले सुनाए । प्रचण्डले आफू कुनै मुलुकको पक्ष र विपक्षमा नभई तटस्थ परराष्ट्र नीतिमा विश्वास गर्ने व्यक्ति भएको बताए । प्रचण्डले पहिला भेनेजुयला, क्युबा र हाल चीनसँग जोडेर आफूविरुद्ध अमेरिकालाई उत्तेजित बनाउने खेल चलिरहेको आफूले राम्ररी बुझेको बताए ।
भेनेजुयलाबारे त्यहींका जनताको निर्णय अन्तिम हुने बताएको र त्यसमा आफू अहिले पनि अडिग रहेको प्रष्ट गरे । यस्तै क्युबाविरुद्धको नाकाबन्दीको संयुक्त राष्ट्रसंघले नै विरोध गरेर त्यसविरुद्ध प्रस्ताव नै पारित गरेकाले त्यसको समथृन गर्नु जायज भएको उनको तर्क छ ।