प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा बसेर संविधान दिवसको दिनलाई कालो दिवसको रुपमा मनाए मन्त्रि पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन्। समाजवादी पार्टीको केन्द्रिय पदाधिकारी बैठक बसी रहेको बेला प्रम ओलीले
सरकारका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कडा सन्देश पठाएका थिए। सत्तामा पनि बस्ने र संविधान दिवसलाई कालो दिवसको रूपमा पनि मनाउनेबारे समाजवादीको पार्टी बैठकमा छलफल भईरहेको थियो । सोही बेला प्रधानमन्त्री ओलीले कडा सन्देश पठाएपछि उपेन्द्र यादव हच्किएका हुन् ।
सो सन्देशमा प्रधानमन्त्री ओलीले सत्तामा बसेर संविधान दिवसलाई कालो दिवसका रुपमा मनाउने छुट कसैलाई नदिने स्पष्ट पारेका थिए। सरकारले संविधान दिवसलाई भव्य रुपले मनाउन तयारी गरिरहेको बेला सत्तारुढ दलद्वारा नै कालो दिवस मनाउने कुरा आफुलाई असह्य हुने र यस्तो गरे मन्त्रीपदबाट समेत बर्खास्त गर्न आफु पछि नहट्ने सन्देश प्रधानमन्त्री ओलीले उपेन्द्रलाई पठाएका थिए ।
जतिबेला प्रधानमन्त्री ओलीको सन्देश उपेन्द्र यादवले पाएका थिए– त्यतिबेला पार्टी कार्यालयमा डा.बाबुराम भट्टराईले असोज ३ गते कालो दिवस मनाउने निर्णय गर्न उपेन्द्र यादवमाथि दबाब दिइरहेका थिए । तर, प्रम ओलीको सन्देश पाएपछि उपेन्द्र यादव केही समय बाहिर निस्किएका थिए । सो समयमा यादवले प्रधानमन्त्री ओली निकटस्थ केहि नेताहरुलाई आफु कालो दिवस मनाउने कुनै पनि सोचमा नरहेको स्पष्टीकरण दिएका थिए।
उपप्रधानमन्त्री यादवले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, नेकपाका महासहिव विष्णु पौडेल र सरकारका महान्यायाधिवक्ता अग्नि खरेललाई फोन गरि आफुले पनि संविधान दिवसलाई भव्य रुपमा मनाउन प्रदेश नम्बर दुईका सरकारलाई निर्देशन दिई सकेको र आफ्नो पार्टीले पनि कालो दिवस नमनाउने भन्दै आश्वस्त पारेका थिए।
राष्ट्रिय जनता पार्टी नेपालले असोज ३ गतेका दिनलाई कालो दिवस मनाउने र संविधान दिवसको विरोध गर्ने निर्णय गरेको छ । तराई–मधेश केन्द्रित अर्को प्रतिष्पर्धी दलले नै यस्तो निर्णय गरेपछि उस्तै प्रकृतिको आन्दोलनबाट राजनीतिमा स्थापित भएको समाजवादीलाई पनि पार्टीका नेता कार्यकर्ताले राजपाकै जस्तो निर्णय गर्न दबाब दिइरहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया