प्रधानमन्त्री भन्छन् :गणतन्त्रविरोधीमाथि ‘बघिनी शैली’ मा आक्रमण हुन्छ

प्रधानमन्त्री भन्छन् :गणतन्त्रविरोधीमाथि ‘बघिनी शैली’ मा आक्रमण हुन्छ
राजनीति

प्रधानमन्त्री केपी ओलीले जनताले लडेर ल्याएको लोकतन्त्रमाथि चुनौती दिनेहरुलाई सरकारले नछाड्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीले लोकतन्त्रमाथि खतरा आइलागे सरकार ‘बघिनी शैली’ मा त्यसको रक्षाका लागि उत्रने बताए । प्रधानमन्त्रीले केही व्यक्ति वातावरण बिगार्न उद्दत रहेको भन्दै त्यसो नगर्न सुझाए । ‘जबसम्म आफ्ना डमरुमाथि खतरा आइपर्यो भन्ने हुँदैन तबसम्म बघिनी चुपै लागेर बस्छे ।

डमरुमाथि खतरा पैदा भयो भने बघिनी चुप लागेर बस्दिन । डेमोक्रेसीमाथि, संघीय लोकतान्त्रिक गणतन्त्रमाथि जबसम्म खतरा आइपर्दैन तबसम्म सरकार बघिनीजस्तै शान्त हुन्छ’, सिंहदरबारमा नयाँ संसद भवनको शिलान्यास गर्दै बुधबार ओलीले भने, ‘लोकतन्त्रमाथि खतरा आयो भने सरकार सहँदैन । बघिनी शैलीमा जाइलाग्छ ।’

उनले भ्रष्टाचारमा सरकारले शून्य शहनशीलता नीति लिइएको दोहो¥याए । ‘भ्रष्टाचारमा शून्य सहनशीलता सरकारको ‘लिप्स सर्भिस’ मात्र होइन’, उनले भने, ‘सबैेले आफ्नो काम कर्तव्यप्रति होसियार रहनू ।’ उनले तीन वर्षभित्र जसरी पनि संसद भवन बनाएरै छाड्न सहरी विकास मन्त्रालय र मन्त्रीलाई निर्देशन दिए ।

उनले विभिन्न बहानामा पैसा थप्ने काम नगर्न भने । फरक प्रसंगमा उनले हिंसात्मक राजनीतिको बितण्डा स्वीकार्न नसकिने स्पष्ट गरे । उनको यो भनाइ नेत्रविक्रम चन्द समूहतर्फ लक्षित थियो ।

Post Comment