राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपाली कांग्रेसले तत्कालीन माओवादीका अध्यक्ष प्रचण्डको एजेन्डा बोकेर हिँडेको आरोप लगाएका छन् ।
राप्रपा भक्तपुर जिल्ला समितिले शनिवार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले बीपी, गणेशमान र कृष्णप्रसाद भट्टराईको एजेन्डा छाडेर कांग्रेसले प्रचण्डको एजेण्डा बोकेर हिँडेको आरोप लगाए ।
‘कांग्रेसले प्रचण्डको भरिया भएर उसको एजेण्डा बोकेर हिँडेकाले देशमा अहिले योजनाबद्ध रुपमा प्राचिन र मौलिक धर्म संस्कृतिमाथि आक्रमण भइरहेको छ,’ उनले भने ।
नेपालको धर्म र संस्कृति त्यागेर विदेशी धर्म स्थापना गर्ने दुस्प्रयास भइरहेकोमा चिन्ता व्यक्त गर्दै उनले ठूला दलका केही वरिष्ठ नेताहरु नै विदेशीको प्रभावमा पर्दा नेपालको धर्म, संस्कृतिमा संकट आएको बताए ।
अध्यक्ष थापाले नेपालको धर्म संस्कृतिमा भइरहेको अतिक्रमणलाई रोक्न नसके स्थानीय पहिचान र अस्तित्व गुम्ने उल्लेख गर्दै राप्रपाले हिन्दू राष्ट्रका लागि आन्दोलन र अभियान सञ्चालन गरेको तथा यो कुनै पार्टी वा धर्म विरुद्ध नभई हिन्दू धर्ममाथि बढ्दो बाह्य आक्रमण रोक्न चालेको अभियान भएको बताए ।
‘माओवादीले गलत बिरुवा रोप्यो, धतुरो रोपेर आँप फल्दैन, अहिले नेकपा मात्रै होइन कांग्रेसमा पनि सैद्धान्तिक विचलन आएको छ,’ उनले भने ।
राप्रपा भक्तपुर जिल्ला अध्यक्ष माधव खत्रीले हिन्दू राज्यको अभियानमा सहभागी हुन कार्यक्रममा विभिन्न दलहरु परित्याग गरी राप्रपा प्रवेश गर्नेलाई टीका र खादा लगाएर स्वागत गरेका थिए ।