काठमाडौँ, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतले नेपालको भू–भाग कब्जामा लिएको जमिन आफ्नै कार्यकालमा फिर्ता ल्याएरै छाड्ने प्रतिवद्धता जनाउनुभएको छ ।
प्राइम टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले लिपुलेक, कालापानी तथा लिम्पियाधुरा नेपालको रहेको ऐतिहासिक तथ्य र प्रमाणहरु रहेको बताउनुभयो । उहाँले उक्त जमिन १४६ वर्ष नेपालीले भोगचलन गरेको उल्लेख गर्दै काली नदी पूर्वको जमिन नेपालको हो भनि सुगौली सन्धीमा उल्लेख गरेको बताउनुभयो ।
नेपालले कुनै आवेगमा नक्सा बनाएको साथै भारतसँग निउ खोज्नको लागि नेपालको वास्तविक नक्सा जारी गरेको नभई नेपालको यथार्थ, सत्य तथा तथ्यमा आधारित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नक्सा देखाउनको लागि बनाएको हैन, नक्सा यथार्थ, सत्य र तथ्यमा आधारिता छ । वार्तामा आउनुको साटो उल्टै नेपाली भूमिका बोटो बनाउने काम गरेको छ । त्यो हाम्रो लागि कदापी स्वीकार्य छैन ।’
भारतले ८औं संस्करणमा भारतले नेपालको जमिन समेटेर निकालेको प्रति आपत्ती जनाउँदै उहाँले भारतले नयाँ नक्सा जारी गरेपछि पटक–पटक नेपाल सरकारले प्रयास गरेको तर भारतले त्यसलाई सकरात्मक तवरले नलिएको बताउनुभयो । आ–आफ्ना तर्फका प्रमाणहरु प्रस्तुत गरी वार्ता हुने उल्लेख गर्दै उहाँले भारतले नेपालको भूमि फिर्ता गर्नै पर्नेमा दृढता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘कुटनीतिक सम्वादको माध्यमबाट समस्या समाधान हुनेछ । भारतले नेपालको हो भनि स्वीकार्नु पर्छ, फिर्ता गर्नैपर्छ । दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध रहेको छ । नरेन्द्र मोदीसँग सम्बन्ध सुमधुर रहेको छ । वार्ता र छलफल हुन्छ । उक्त समयमा तथ्य र प्रमाणहरु प्रस्तुत गरिने छ । तथ्य र प्रमाणको आधारमा नेपालको भूमि फिर्ता आउँछ ।’
आफ्नो सभ्यता प्रति नेपालीले गौरव गर्ने उल्लेख गर्दै उहाँले कसैको बहकाउमा नेपाली नलाग्ने समेत बताउनुभयो । मर्यादाका सीमाहरु भारतीय मिडियाले उल्लंघन गरेको साथैपरिस्थिती विगार्ने कार्यमा भारतीय मिडिया लागेको उल्लेख गर्दै उहाँले मिडियाले मात्र नकरात्मक हल्ला फैलाएको समेत स्पष्ट पार्नुभयो ।