काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाका पछिल्ला निर्णयविरुद्ध शनिबार रणनीति बैठक बेलाएको छ । शनिबार दिउँसो २ बजे पौडेल समूहले आफूनिकट केन्द्रीय सदस्यको भर्चुअल बैठक बोलाएको नेता अर्जुनरसिंह केसीले जानकारी दिए । विभाग गठन, क्रियाशील सदस्यता वितरण र तेस्रो भ्रातृ संस्थाको कार्यकाल थपलगायतका विषयमा दबाब दिन छलफल केन्द्रित हुने उनले जानकारी दिए । सभापति देउवाले विभागमा मनोनयन नरोकेपछि पौडेल पक्ष ‘एक्सन’मा उत्रिन खाजेको छ ।
सभापति देउवाले बुधबार र बिहीबार सूचना सञ्चार तथा प्रचार र शुभेच्छुक संस्था समन्वय विभागमा उपप्रमुख, सचिव र सदस्य गरी ९६ जनालाई मनोनयन गरेका छन् । जसबाट पौडेल समूह थप आक्रोशित बनेको छ । पौडेल समूहले सभापतिका निर्णय फिर्ताका लागि आजको बैठकबाट दबाबका कार्यक्रम तय गर्नेछ ।
निर्णय खारेज गर्न सशक्त प्रतिरोधमा उत्रिनुपर्ने आवाज पौडेल समूहमा उठेको छ । पौडेल समूहले केन्द्रीय कार्यसमितिबाट राजीनामा दिएर अनशन र सत्याग्रहमा बस्नेसम्मको रणनीति बनाइरहेको केसीले बताए ।
यसअघि तत्कालीन सभापति सुशील कोइरालाले तीन–साढे तीन वर्षमा विभाग गठन गर्दा देउवाले पनि केन्द्रय कार्यसमितिबाट राजीनामा दिएर अनशन र सत्याग्रहमा उत्रिएपछि निर्णय फिर्ता भएको थियो । केसीले भने, ‘उहाँ अहिले आफैँले स्थापित गरेको मान्यताविपरीत निर्णय गर्दै जानुभएको छ। हामी पनि उहाँले हिजो अवलम्बन गरेको बाटोमा जान बाध्य हुन्छौं। यसको निर्णय आज छलफलबाट लिइन्छ ।