सरकारले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिलाई क्षतविक्षत बनाएको आरोप नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले लगाएका छन्।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा बपीको योगदान विषयक जुम अन्तरक्रियामा निधिले भने, ‘सरकारले नेपालको अन्तर्राष्टिय सम्बन्ध र विदेश नीतिलाई क्षतविक्षत बनाएको छ । यो चिन्ताको विषय हो।’
उनले यस्तो बेलामा नेपाली कांग्रेसका नेताहरुले गम्भीर मनन गरेर उचित दिशा अपनाउनुपर्नेमा जोड दिए।
चीन र भारतसँग सम्बन्ध सुमधुर र सन्तुलित राख्न बीपीको कार्यनीति काम अहिले पनि त्यतिकै महत्त्वपूर्ण रहेको निधिको भनाइ छ।
‘सरकारले राष्ट्रहित हेरेको छैन। समानता हेरेको छैन। लोकतन्त्र हेरेको छैन। धार्मिक र सांस्कृतिक सम्बन्ध हेरेको छैन,’ निधिले भने, ‘भारतसँगको सम्बन्ध अत्यन्तै जटिल मोडमा पुगेको छ।’
उनले नेपालले चीन र भारतसँग मैत्रीसम्बन्ध राख्न सक्नुपर्ने बताए। बीपी कोइरालाले अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा एउटा आधारशिला तयार गरेको उनले प्रस्ट पारे।