सर्‍यो नेकपाको सचिवालय बैठक

सर्‍यो नेकपाको सचिवालय बैठक
राजनीति

काठमाण्डौ– आज (शुक्रबार) बस्ने भनिएको सत्तारुढ दल नेकपा सचिवालय बैठक आकस्मिक रुपमा सारिएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीट गर्दै बैठक आगामी असोज ४ गतेसम्मका लागि सरेको जानकारी गराएका छन ।

प्रवक्ता श्रेष्ठले ट्वीटरमा लेखेका छन, ‘हाम्रो पार्टीको आज बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक आज स्थगित भई पर्सी असोज ४ गते बिहान ११ बजे पेरिसडाँडामा बस्ने तय भएको छ ।’

मन्त्रिमण्डल पुनर्गठन लगायतका विषयमा छलफल गर्नका लागि पार्टीको सचिवालय बैठक आज बिहान ११ बजे पेरिस डाँडामा बस्ने तय भएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने बताइएको थियो ।

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बुधबार भएको भेटमा पेरिसडाँडामा बैठक बस्ने सहमति भएको थियो ।

पार्टी एकता भइसकेपछि पहिलोपटक तत्कालीन नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय रहेको पेरिसडाँडामा बैठक बस्न लागेको थियो ।

दुईजना अध्यक्षबीचको सहमतिमै बैठकस्थल बस्ने तय भएको भए पनि एकाएक बैठक सार्नुको कारणबारे भने प्रवक्ता श्रेष्ठले खुलाएका छैनन ।

बैठकमा पार्टीभित्र देखिएको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनमा छलफल, मन्त्रिमण्डल पुनर्गठनलगायत प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने विषयमा छलफल हुने बताइएको थियो ।

नेकपाको २६ भदौंमा सम्पन्न स्थायी कमिटीको बैठकले पनि यी विषयमा निर्णय गरेको थियो । दुई अध्यक्षले स्थायी कमिटी बैठकपछि जारी गरेको सकुर्लरमा पनि उल्लेख छ ।

पेरिसडाँडामा बैठक बस्ने तय भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो । सचिवालय बैठकका लागि पेरिसडाँडामा बिहीबार नै भौतिक दुरी कायम गरेर टेबुल, कुर्सी लगायत आवश्यक व्यवस्थापन मिलाइएको थियो ।

Post Comment