अनेसास प्रेस विज्ञप्ति: नेपाली भाषासम्बन्धी अनेसासको ध्यानाकर्षण (पूर्णपाठ)

साहित्य

मिति : सेप्टेम्बर २५, २०१६

  प्रेस विज्ञप्ति

विगत केही समयदेखि नेपाली भाषाको वर्णविन्यासका क्षेत्रमा देखापरेका विवाद र अन्योलप्रति विश्व नेपाली साहित्यको छाता सङ्गठन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाली भाषा नेपालमा मात्र सीमित नरही भारतमा संवैधानिक मान्यता प्राप्त गरिसकेको र बर्मा, भूटान आदि विभिन्न मुलुकमा समेत प्रयोग गरिने भाषा हो । विगत केही दशकदेखि अमेरिका, युरोपलगायत संसारका विभिन्न मुलुकमा नेपालीहरू प्रवासिने क्रम जारी छ । जुनजुन ठाउँमा नेपाली जाति पुगेका छन् तीती ठाउँमा नेपाली भाषासाहित्य र संस्कृति पनि सँगसँगै पुगेको छ । विभिन्न मुलुकमा बसोबास गर्ने नेपालीहरूले आफ्ना बालबालिकालाई नेपाली भाषा सिकाउने उद्देश्यले नेपाली भाषा पाठशालाहरू खोलेर नेपाली भाषा पढाउने काम भइरहेको छ । आप्रवासमा रहेका थुप्रै नेपाली साहित्यकारहरूले विभिन्न विधाका प्रशस्तै कृतिहरू पनि सिर्जना गरिसकेका छन् र गरिरहेका छन् ।

यसरी नेपाली भाषासाहित्य अन्तर्राष्ट्रियकरण भइसकेको अवस्थामा नेपाली भाषाको मूल थलो नेपालबाटै नेपाली भाषाप्रति नै वितृष्णा फैलिने गरी व्यक्तिगत एवं सरकारी निकायबाट समेत नेपाली भाषालाई बिगारेर अस्तव्यस्त तुल्याउने कार्य भइरहेकोमा हामी अत्यन्त दुखी छौँ । भाषासम्बन्धी पीडा नेपालभित्रभन्दा नेपालबाहिर बढी छ र हामीहरू भाषाको मानकीकरण नेपालतिर फर्केर हेर्दछौं तर नेपालभित्रै यस्तो अस्तव्यस्तता देख्दा हामी आप्रवासी नेपाली भाषिक समुदायमा चिन्ता पैदा भएको छ । सरकारी निकायबाट परिपत्र जारी गरी जबर्जस्ती लादिएको नियमले हामी आप्रवासमा बसेका नेपाली समुदाय र हाम्रा बालबालिकासमेतलाई प्रत्यक्ष प्रभाव पार्न थालेको हुँदा हामी सारै चिन्तित भएका छौँ ।

हाल नेपाली भाषालाई विकृत पारेर यसको विकासलाई नै अवरुद्ध तुल्याउने गरी व्यक्तिगत एवं सरकारी निकायबाट समेत भइरहेका गतिविधिले हामी आप्रवासमा बसेका नेपालीलाई समेत प्रत्यक्ष प्रभाव परेकाले त्यस्ता गतिविधिप्रति असहमति प्रकट गर्दै नेपाली भाषाको अस्तित्व जोगाउन हामी नेपाल सरकारका साथै सरोकारवाला निकायहरूसँग जोडदार माग गर्दछौँ ।

गोबर्धन पूजा
महासचिव

press_release_anenasa