खिम लामिछाने-पोखरा, ३ कात्तिक। वरिष्ठ गजलकार डा. कृष्ण जंग राणाको सस्वर गजल गायनमा पोखरेली साहित्यकार झुमेका छन्। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी अञ्चल समितिले होटल आनन्दको सभाहलमा बुधबार आयोजना गरेको अग्रज साहित्यकार डा. कृष्णजङ्ग र राणाले आफ्ना उत्कृष्ट हिन्दी र नेपाली गजल गायन गरेका थिए। कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ हरिदेवी कोइरालाले सोही समारोह बीच डा. राणालाई दोसल्ला र सम्मान सहित सम्मान अर्पण गरेकी थिइन्। प्रमुख अतिथि कोइरालाले पोखरामा फेवाको छालजस्तै पटक–पटक डा. राणाका जस्ता गजल सुन्न पाइयोस् भन्ने शुभेच्छा व्यक्त गर्दै उहाँको सम्मान स्वरुप आफ्नो गजल वाचन गरेकी थिइन्। स्रष्टा परिचय राख्दै अनेसास गण्डकीका सचिव असफल गौतमले ८६ वर्षको उमेरमा गजल गायन गर्नु र दर्जन बढी हिन्दी र नेपाली गजलका किताब प्रकाशन गर्नु नै डा. राणाको पूर्ण परिचय रहेको बताए। अध्यक्षको आसनबाट बोल्दै दुर्गा बहादुर शाह बाबाले डा. राणाबाट हामी सबैले प्रेरणा लिनुपर्ने बताए। कृष्ण रानाभाट सारथीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन पितमसेन ठकुरीले गरेका थिए। वि.सं. १९८८ भाद्रमा बाँकेको नेपालगञ्जमा जन्मेका राणाले एमबीबीएस, डीपीएच सहित विद्यावारिधी गरेका छन्। ५२ भन्दा बढी राष्ट्रको भ्रमण गरेका राणाका देशको लागि मन दुखाऊ कवितासङ्ग्रह–२०२८, मेरो गीत तिम्रो लागि कवितासङ्ग्रह–२०३०, बिखर काँटे बिखरे फुल हिन्दी कवितासङ्ग्रह–२०६२, मनका उद्गार कवितासङ्ग्रह–२०६२, अन्तर्भाव कवितासङ्ग्रह–२०६७, मनकै सेरोफेरोमा, आस्थाको खोजीमा गजलसङ्ग्रह–२०६७, भाव थरीथरी, मायाको सँगालो, छल्किएका भाव मनका गजलसङ्ग्रह–२०६८, उकाली ओराली गजलसङ्ग्रह–२०६९, जिन्दगी की परछाइयाँ, जीवन की गलियोँ में हिन्दी गजलसङ्ग्रह–२०६९, प्यारका तोहफा, जिन्दगी प्यार और खुशियाँ हिन्दी, मन्जिल की खोज गजलसङ्ग्रह–२०७०, धूपछाँह हिन्दी गजलसङ्ग्रह २०७१ कृति प्रकाशित छन्। भानुभक्त पुरस्कार, मध्यपश्चिमाञ्चल गजल सम्मान, नेपाल हिन्दी सम्मान, मध्यपश्चिम स्रष्टा सम्मान, अवधि सांस्कृतिक सम्मान र राष्ट्रिय गजल सम्मानबाट सम्मानित भइसकेका स्रष्टा राणाले विभिन्न सामाजिक र प्रशासनीय सेवाका सन्दर्भमा ५२ बढी देशको भ्रमण गरिरहेका छन्।