महेश नेपाल, काठमाडौं । नेपाली बाल साहित्यमा कलम चलाउँदै आएका पत्रकार नेत्र तामाङ लिखित दुई बाल कथा किताब ‘बहुलाएको रुख’ र ‘बोजराज र बाउन्ने’ बजारमा आएको छ । डेनिस र नेपाली बालसाहित्यकार हरुको ‘बाल आकाश’ अभियानको सहयोगमा दुबै कृति कथालय प्रकाशनले बजारमा ल्याएको हो । दुबै किताबमा भूकम्पसम्बन्धी कथा रहेका छन् ।
पर्वतका विभिन्न विद्यालयका विद्यार्थीहरुको मनोभावनामा आधारित किताब ‘बहुलाएको रुख’ सचित्र बाल कथा हो । यसलाई बाल साहित्यकार कृष्णदीप सिग्देलले सम्पादन गरेका छन् भने समित श्रेष्ठको चित्र रहेको छ । १५ पृष्ठको किताबको मुल्य १०० रुपैयाँ तोकेको छ ।
‘बोजराज र बाउन्ने’ भने ५० पृष्ठको रहेको छ । यसलाई डा रामप्रसाद ज्ञवालीले सम्पादन गरेका छन् भने सन्दीप कडेलको चित्र रहेको छ । च्याप्टर किताबका रुपमा बजारमा आएको यसको मुल्य १०० रुपैयाँ तोकेको छ।
यसअघि तामाङका दुई बालचित्र कथा ‘हजुरआमालाई उपहार’ र ‘कालो बिरालो’ प्रकाशित छन् ।