
भोट हालेर के हुन्छ?
भोट नहालेर के हुन्छ?
जितेर आउने उही दलाल हुन
लुटेर खाने उहीँ दलाल हुन
यिनै लुटेरालाई सराप्दै पुस्तौँ बित्यो
हजुरबा, बुबा र मेरो जीवन बित्यो
कहिले भ्रष्टाचारीले जित्यो
कहिले लुटेराले जित्यो
कुकुरले मासु नखाओस भन्यो, डाडु-पुन्यु सुम्पियो
उसैको अपेक्षा गर्यो, चोरलाई चौतारो साधुलाई सुली
उहीँ अघाउँछ, उहीँ डकार्छ, उल्टो हामीलाईनै हकार्छ
ओए तँ झोले बनीस, आफ्नै झोला भरीस
म स्वतन्त्र बनें भन मेरो लागि के गरीस?
चुनाव अगाडि मलाई एक नमस्कार गर्छस
चुनाव पछाडी तँलाई सय नमस्कार गर्नुपर्छ
चुनाव अगाडि हजुरकै सेवा गर्छु भन्छस
चुनाव जितेपछी मलाई नदेखेझैँ गर्छस
तँलाई चुनाव जिताएर मलाई के हुन्छ ?
तैंले चुनाव हारेर मलाई के हुन्छ ?
तेरै हातमा छ देशको ढुकुटिको चाबी
तेरै हातमा छ भान्सा तैँ हुन्छस हाबी
म बबुरो जन्ता तेरै सत्तोसराप गर्छु
केही लाग्दैन मजबुर छु, तेरै भर पर्छु
कुकुर हो हड्डी मासु खान्छ भन्छु
तै पनि नखाओस भन्ने अपेक्षा गर्छु
तँ जाती, तैँ राम्रो, तैँ सर्वेसर्वा
तेरो त भाग्यनै बलियो
तेरै गोरुको बार्ह टक्का
म मेरै टाउको ठोक्छु
म बरु आफैलाई धिक्कार्छु ।
तेरै जय होस
मेरो भए होस नभए नहोस ।