वर्ष २०७२ ऐतिहासिक र महत्वपूर्ण – उपराष्ट्रपति पुन

समाज

काठमाडौँ, १ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले नयाँ वर्ष २०७३ शुभारम्भको सुखद् अवसरमा राष्ट्रको निरन्तर समुन्नती, समृद्धिका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरूमा नयाँ उत्साह र उमङ्गसहित सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, सद्भाव, एकता, उत्तरोत्तर प्रगति एवम् समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

आज नयाँ बर्षको शुमकामना सन्देश दिँदै उहाँले लोकतान्त्रिक विधि र पद्धतिमार्फत संविधानसभाबाट नयाँ संविधान जारी भएकाले वर्ष २०७२ ऐतिहासिक र महत्वपूर्ण वर्षको रुपमा रहेको उल्लेख गर्नुभएको छ ।

२०७३ सालमा नयाँ संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र आर्थिक समाजिक रुपान्तरणसहितको समृद्धि, लोकतान्त्रिक गणतन्त्र संस्थागत र समानुपातिक समावेशी व्यवस्थाको व्यवहारिक कार्यान्वयन हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।