दूध बिक्रीबाट घरखर्च गरी बचाएको पैसा सडकमा

समाज

सिन्धुली, २९ वैशाख । सिन्धुलीको नेत्रकाली–८ घ्याङलेका स्थानीय कृषकले गाई भैँसीको दूध बिक्रीबाट राम्रो आम्दानी लिँदै आएका छन् । आफूलाई चाहिनेभन्दा बढी दूध बेचेर त्यहाँका कृषकले मासिक पाँच हजारदेखि २५ हजारसम्म आम्दानी लिने गरेका छन् ।

पहिला आफूलाई दैनिक घर खर्च चलाउन धौ–धौ पर्ने गरेको बताउने कृषक अहिले भैँसीपालनबाट स्वदेशमै रोजगारी मिलेको बताउँछन् । वर्षौंैदेखि उनीहरुले गाई र भैँसीपालन गर्दै आएका छन् । दूधबाट पहिला घ्यू बनाएर बेच्दा बजारको समस्यादेखि हजार समस्या थपिएको र अहिले दूध बिक्रीबाट आफूले मासिके हुँदा १० हजारदेखि १८ हजारसम्म आम्दानी लिएको कृषक धनराज वाइबाले बताए ।

पहिला बिहानी समय भैँसीलाई स्याहार–सुसारदेखि भैँसी दुहुने, दूध तताउने, ठेकी मस्काउने र दहीलाई मोही बनाई घ्यू निकाल्दा समय मात्रै बर्बाद भएको र अहिले दूध नै बेच्दा समय बचत भएको वाइबाको भनाइ छ । पहिला घर खर्च धान्नै असजिलो भएकामा केही वर्षदेखि दूध बेचेरै छोरा–छोरीलाई अध्ययन खर्च धान्न सकेको उनी बताउँछन् ।

यस्तै दूध बेचेरै आफूले दुई वटा भैँसीको दूध बिक्रीबाट मासिक २० देखि २५ हजारसम्म आम्दानी गर्ने गरेको स्थानीय कृषक सानुकेशर वाइबाले बताए । उनको चाखलाग्दो कुरा के छ भने त्यतिकै खेर जाने दूधबाट बनेको मोहीबाट मात्रे हैन अहिले भैँसी दोहिदिएपछि पैसा आइहाल्छ । सिन्धुली जिल्लाको ग्रामीण विकट तथा महाभारत क्षेत्रमा पर्ने यस गाविसमा सडकको पहुँच पुगेपछि बनेपा र काठमाडाँै देखिका दुग्ध व्यवसायी गाडी लिएर दूध लिन आउने गरेको कृषक सानुकेशरले बताए ।

ग्रामीण क्षेत्रमा पोषिलो घाँससँगै व्यवसायिक तवरले पशुपालन गर्दा आम्दानी गर्न बिदेसिनु नपर्ने उदाहरण स्थानीय कृषकले दिएका छन् ।

भिरालो र वरिपरि जङ्गलै जङ्गल भएको बस्तीमा वस्तु पाल्न घाँसको कहिल्यै अभाव हुँदैन । एक पल्ट बिदेसिएर अहिले पशुपालनमा लागेका युवाले सरकारी जागिरसरह मासिक १० हजारदेखि २५ हजारसम्म आम्दानी गर्ने गरेका छन् ।

स्थानीयवासीले दूध बेचेर आम्दानी गरेको रकम मध्येबाट बचाएको रकमबाट सडक विस्तार गर्न एक लाख रुपैयाँसम्म सहयोग गरेको सिन्धुली क्षेत्र नं ३ का नेपाली काँग्रेसबाट संविधान सभा सदस्यका लागि उम्मेदवारी दिएका खड्गबहादुर वाइबाले बताए । तामाङ जातिको बाहुल्यता रहेको घ्याङलेमा स्थानीयवासीको आर्थिक सहयोग र श्रमदानमा काभ्रेको भीमखोरी तथा सिन्धुलीको बस्तीपुर र मरिण क्षेत्रबाट जान सकिने ग्रामीण सडकको निमार्ण गरेका छन् ।