पत्रकारको उपचारमा छुटको व्यवस्थाप्रति चिनियाँ पत्रकारको प्रशंसा

समाज

काठमाडौँ, १८ जेठ । नेपाल भ्रमणमा रहेको चिनियाँ पत्रकार महासङ्घको प्रमण्डलले नेपालमा सरकारले नेपालमा पत्रकारको उपचारमा ५० प्रतिशत छुट तथा दुर्घटना बीमाको व्यवस्था आफूहरुका लागि पनि नयाँ कार्यक्रम लागेको जनाएको छ ।

सूचना तथा सञ्चारमन्त्री शेरधन राईसँग सिंहदरबारमा आज भेट गर्दै टोली नेता गाओ साङ्गाङ्ले यस प्रकारको व्यवस्था चीनमा पनि हालसम्म नभएको अवस्थामा नेपालमा गरिएकामा सरकारको प्रशंसा गर्नुभयो ।

सरकारले संसद्मा प्रस्तुत गरेको बजेटमा पत्रकारका लागि सरकारी अस्पतालमा उपचारमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ भने बीमाका कार्यक्रम लागू भइसकेको छ ।

मन्त्री राईले पत्रकारको मापदण्ड र वर्गीकरणका लागि सरकार लागिरहेको जनाउँदै पत्रकार हुने पहिलो सर्त देश र जनताप्रति उत्तरदायी र जवाफदेही हुनैपर्छ भन्नुभयो । उहाँले विभिन्न जनआन्दोलनका उपलब्धिलाई संस्थागत गर्ने गरी नेपालले नयाँ संविधान प्राप्त गरेको र अब स्थिरता तथा आर्थिक समृद्धिका लागि सरकार अघि बढेको बताउनुभयो ।

उहाँले संविधानले पूर्ण प्रेस स्वतन्त्रता, सूचना र सञ्चारको हक सुनिश्चित गरेको जनाउँदै सोबमोजिम आम सञ्चार राष्ट्रिय नीति तर्जुमा हुन लागेको, पत्रकारको दक्षता अभिवृद्धिका लागि प्रशिक्षण प्रतिष्ठान स्थापनाको चरणमा रहेको अवगत गराउनुभयो ।

मन्त्री राईले पत्रकारको दक्षता अभिवृद्धिका लागि नेपाल र चीनबीचको सहयोग आदान–प्रदानका लागि सरकार तयार रहेको स्पष्ट गर्नुभयो ।

टोली नेता गाओ साङ्गाङ्ले चीनमा समाजप्रति जिम्मेवार, देशको नीति र आवश्यकता अनुकूल, दृष्टिकोण र विचारयुक्त, जनता र कम्युनिस्ट पार्टीको हित चाहने तथा समाचार सङ्कलन र सम्पादनमा सक्षमलाई पत्रकार बनाइने अनुभव सुनाउनुभयो ।
सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टको पनि उपस्थिति थियो ।