डोटी, १८ जेठ । मध्यपहाडी बृहत् मकै प्रवद्र्धन कार्यक्रमअन्तर्गत जिल्लामा मकैको बीउ वितरण थालिएको छ ।
मकैको व्यावसायिक र उन्नत तवरले खेती प्रणालीको विकास गर्न जिल्ला कृषि विकास कार्यालयले उक्त अभियान थालेको हो । जिल्ला कृषि विकास कार्यलयका वरिष्ठ कृषि विकास अधिकृत डा तपेन्द्र शाहका अनुसार उक्त अभियानअन्तर्गत अहिलेसम्म १५ मेट्रिक टन बीउ वितरण गरिएको छ ।
यस्तै, धानको बीउ ११० क्विन्टल वितरण गरिएको छ । खुमल ४, खुमल १०, सुक्खा १, सुक्खा ३ जातको धानको बीउ वायल र वासुदेवी गाविसमा वितरण गरिएको हो । जिल्लाका १० गाविसमा १२० क्विन्टल भटमास वितरण गरिएको छ । “फलफूलको बीउ वितरण हुन बाँकी रहेको छ,” अधिकृत शाहले भन्नुभयो ।