रासस समाचार प्रभावः पानीको समस्या समाधान

समाज

दाङ, १८ जेठ । तुलसीपुर–७ प्रतावकोट, नाउला, दाङपानीका बासिन्दा एक गाग्री खानेपानी लिन एक दिनको समय खर्चिंदै आएको समाचार प्रकाशन भएपछि यहाँका स्थानीयवासीले पाइप पाउने भएका छन् ।
राष्ट्रिय समाचार समितिबाट समाचार प्रकाशन भएपछि तुलसीपुरका टोपबहादुर महताराले सो गाउँमा खानेपानीका लागि ३०० मि पाइप खरिदका लागि रु ३० हजार र तुलसीपुर नगरपालिकाले मुहान संरक्षणमा सहयोग गर्ने भएका हुन् ।

महताराले तुलसीपुर नगरपालिका मार्फत स्थानीयवासीलाई पाइपका लागि रकम दिनुभएको हो । पानीको मुहान टाढा रहेको तथा नजिकमा मुहान नहुँदा स्थानीयवासीले घन्टौँ हिँडेर खानेपानी लिन जानुपर्ने बाध्यता छ ।

काफल ढुङ्गा खानेपानी योजनाअन्तर्गत पाइप लाइन बिछ्याएर खानेपानीको जोहो गर्दै आए पनि हाल सो खानेपानीको पाइप वर्षात्को पहिराले बगाएपछि करिब ७० घरधुरी एउटा धाराबाट पानी खान बाध्य भएका थिए ।

गत सालको वर्षात्मा आएको पहिराले ३०० मि पाइप बगाएको र सो पाइप लाइन मर्मतका लागि महतारा र नगरपालिकाले सहयोग गर्ने नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसीले बताउनुभयो ।

“समाचार प्रकाशित भएलगत्तै हामी सबैको ध्यानाकर्षण भएको छ, अब एक दुई दिनमा नै स्थानीयवासीलाई सहज रुपमा खानेपानीको व्यवस्था मिलाउने छौँ”, उहाँले भन्नुभयो । यही जेठ ११ गते राससमा ‘एक गाग्री पानी लिन एक दिन’ शीर्षकमा समाचार प्रकाशन भएको थियो ।