चिनियाँ पत्रकार टोली भक्तपुरमा

समाज

भक्तपुर, १८ जेठ । नेपाल भ्रमणमा आएको चिनियाँँ पत्रकार टोलीले आज भक्तपुरको ऐतिहासिक सम्पदाको अवलोकन गरेको छ ।

चिनियाँ पत्रकार महासङ्घका महासचिव गाउ सानगाङका नेतृत्वमा आएको पत्रकार टोलीले भूकम्पले क्षतिग्रस्त बनाएको भक्तपुरको विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक सम्पदाको अवलोकन गरेको हो ।

उनीहरुले भक्तपुरको दरबार स्क्वायर क्षेत्र, पचपन्न झ्याले दरबार, पाँचतले मन्दिर, पोटरी स्क्वायर क्षेत्र लगायत क्षेत्रको अवलोकन गरेका थिए । टोलीलाई नेपाल पत्रकार महासङ्घको टोलीले भक्तपुरको ऐतिहासिक सम्पदाका बारेमा जानकारी गराएको थियो ।

यसअघि नेपाल पत्रकार महासङ्घ भक्तपुरले चिनियाँ पत्रकार टोलीलाई शाखाको कार्यालयमा शाखाका अध्यक्ष अमर भुजुले भादगाउँले टोपी र खादा ओढाएर स्वागत एवम् सम्मान गर्नुभएको थियो ।

कार्यक्रममा चिनियाँ पत्रकार महासङ्घका महासचिव गाउले चीनले नेपालको पत्रकारिता क्षेत्रलाई सहयोग एवम् सहकार्य गर्दै जाने बताउनुभयो । टोलीले पत्रकारहरुको सुरक्षाको विषयमा चासो दिँदै नेपालको पत्रकारिता क्षेत्रमा रहेको कठिनाइका बारेमा जानकारी लिएको थियो ।

त्यस अवसरमा पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष भुजुले चीन र नेपालका पत्रकारबीचको सम्बन्धलाई अटुट रुपमा लैजानुपर्ने बताउनुभयो । पत्रकार महासङ्घ, भक्तपुरका उपाअध्यक्ष सोम शर्मा बजगाईं, सचिव जगतकृष्ण प्रजापति, सहसचिव दीपक लामिछाने लगायतले चीन र नेपालका पत्रकार बीच कार्यगत एकता गर्दै जानुपर्ने बताउनुभयो ।