घरको छतबाट लडेर मजदुरको मृत्यु

समाज

फलेवास (पर्वत), १८ जेठ । पर्वत जिल्लाको सदरमुकाम कुश्माबजारस्थित बडागाउँमा घरको छतबाट खसेर एक मजदुरको आज बिहान मृत्यु भएको छ ।

सल्यान जिल्लाको कागखोला–९ घर भई कुश्माबजारमा मजदुरी गर्दै आएका आन्दाजी ५५ वर्षीय लिलाधर खड्काको बडागाउँस्थित लामिछाने होटलको छतबाट खसेर मृत्यु भएको हो ।

उनी बिहान पौने ६ बजेको समयमा दुइतले घरको छतबाट तल सडकमा खसेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

घटनास्थलमै मृत्यु भएका खड्काको शव परीक्षणका लागि जिल्ला अस्पताल पर्वतमा पठाइएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान कार्य जारी रहेको पनि प्रहरीले जानकारी दिएको छ । मृतक खड्का लामो समयदेखि कुश्माबजारमा पक्की घरलगायतका निर्माण कार्यमा संलग्न रहँदै आएका थिए ।