मुगु, १८ जेठ । सरकारले गत जेठ १५ गते प्रस्तुत गरेको बजेटमा वृद्घभत्ता बढाएपछि यहाँका बूढापाका हर्षित भएका छन् ।
सरकारले सामाजिक सुरक्षाभत्ताअन्तर्गत वृद्घभत्ता शत प्रतिशत बढाएपछि मुगुलगायत कर्णालीका वृद्घ खुसी भएका हुन् ।
यसअघि कर्णालीका पाँच जिल्लाका ६० वर्ष नाघेका बूढापाखाले प्रतिमहिना रु ५०० का दरले वृद्घभत्ता पाउँदै आएका थिए । गत १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७३÷०७४ बजेटमार्फत सरकारले वृद्घभत्ता शतप्रतिशत बढाएर प्रतिमहिना रु एक हजार गरेको थियो ।
श्रीनगर गाविस–२ निवासी ७२ वर्षीय गगनबहादुर मल्ल बूढेसकालमा सन्तानले पालनपोषण गर्न छोड्ने गरेका बेला वृद्घभत्ता जीवन पाल्ने साधन भएको भन्दै सरकारले भत्ता बढाएर राम्रो काम गरेको बताउनुभयो ।
यस्तै, सोही गाविसका वडा नं ३ का अर्का ७१ वर्षीया लक्ष्मी मल्ल पहिला रु ५०० मात्र पाउँथ्यौँ । महँगीले त्यो २ केजी चामलसम्म मात्र किन्न पुग्थ्यो, छोराछोरीले हेला गर्थे, अब सरकारले भत्ता बढाएको सुनेकी छु, आफ्नो जीवन पाल्न अब केही सजिलो होला भन्दै सरकारको जय होस् भन्छिन् ।
मुगु सदरमुकामबाट दुई दिनको दूरीमा रहेको डोल्फु गाउँका ६९ वर्षीय गुडाक लामा मर्ने बेलामा सन्तानले हेर्न छोडेका बेला सरकारले दया गरेर भत्ता बढाएकोमा धन्यवाद दिन्छन् । उनी घर परिवार र समाजका बोझ भएका हामी बूढापाखाको सरकारले संरक्षण गरेकोमा खुसी भएको बताउँछन् ।
यस्तै, ७८ वर्षीय प्रदीप नेपाली सरकार आफ्ना लागि साक्षात् भगवान् भएको बताउँछन् । शरीरले काम गर्न छाड्दै गएका बेला सन्तान तथा अन्यले हेरचाह गर्न खान, लाउन दिन छाडेको बेला भत्ता बढाएकाले धेरै खुसी भएको उनी बताउँछन् ।
रोवा–९ कम्फाका ८६ वर्षीय गोरे नेपाली भन्छन् – हिँडडुल गर्न गाह्रो हुन्छ । छोराछोरीले पहिला भत्ता नदिँदा हेला गर्थे । बाध्यतामा बस्नु पथ्र्यो, तर अहिले सरकारले भत्ता बढायो धन्यवाद छ । छोराछोरीले नहेरे पनि आफ्नो इच्छा लागेको खाने कुरा खान, लगाउने लुगा लगाउन सजिलो भएको छ ।
अहिले दुई चार जना वृद्घ जम्मा भएको ठाउँमा जाने हो भने भत्ता बढाएको र सरकारलाई धन्यवाद दिएको कुराकानी गर्दै गरेको सुन्न पाइन्छ ।