खोटाङ, १८ जेठ । ब्लड क्यान्सरबाट पीडित बनेकी खोटाङ खार्मी–८ की कविता तामाङको उपचारमा आर्थिक सहयोग जुट्न थालेको छ ।
गतबर्ष जेठदेखि क्यान्सरको उपचार गराइरहेकी १८ वर्षीया कवितालाई उपचारमा आर्थिक अभाव भएको समाचार राससमार्फत विभिन्न सञ्चारमाध्यममा प्रसारण तथा प्रकाशन भएपछि देश तथा विदेशमा रहेका नेपालीबाट सहयोग रकम जुट्न थालेको हो ।
काखमा ६ महिनाको छोरो च्यापेर क्यान्सरसँग लडिरहेकी कवितालाई खोटाङकै नुनथला–४ पुइलुङ्का खगेन्द्र राईलगायतको पहलमा कतारबाट रु २१ हजार २०५ सहयोग प्राप्त भएको छ ।
कतारमा जुटेको सहयोग रकम पीडितको नाममा सन्राइज बैंक भैँसेपाटीमा खोलिएको खातामा जम्मा गरिएको सहयोगी ललितबहादुर राईले बताउनुभयो ।
यसअघि धनकुटा र मोरङ घर भई हाल हङ्कङ बसिरहेका विनोद बल, विष्णु पाख्रिन र बाबुराम पाख्रिनको सहकार्यमा सङ्कलन भएको रु पाँच लाख ११ हजार गत वैशाख २० गते कवितालाई प्राप्त भएको थियो ।
कविताले अस्पतालको श्ययाबाट आफ्नो र बच्चाको जीवन रक्षाका लागि प्रत्यक्ष तथा सामाजिक सञ्जालबाट सहयोगको याचना गरेपछि शुभेच्छुकबाट सहयोग जुट्न थालेको हो ।
ब्लड क्यान्सरको उपचार गर्ने क्रममा हालसम्म रु सात लाख सकिएको तथा थप उपचारका लागि रु २० लाख रकम आवश्यकता परेकाले तामाङ परिवारले उपचारका लागि सहयोगको याचना गरिरहेका छन् ।
हाल सिभिल अस्पताल काठमाडौँमा उपचार गराइरहेका तामाङ परिवार कविताको उपचारकै क्रममा ऋणमा डुबेका छन् । निम्न आर्थिकस्तरका तामाङ परिवारले हालसम्म ऋणपान गरेरै बिरामीको उपचार गराइरहेको श्रीमान् अशोक तामाङले बताउनुभयो । कविता क्यान्सरले जीवनमरणको अवस्थामा थलिएपछि दुधे बच्चाको लालनपालनमा समेत समस्या भएको छ ।
क्यान्सरले कवितासँगै उनको बच्चाको समेत ज्यान जोखिममा परेको छ । कविताले आफ्नो र बच्चाको जीवन रक्षाका लागि सहयोग गर्न आग्रह गरेकी छन् । “म बाँचेँ भने काखको बच्चा पनि बाँच्न सक्छ ।” कविताले भन्नुभयो, “मेरो बच्चालाई बचाउन पहिला मलाई बचाउनुस् ।”
रोजगारीका सिलसिलामा साउदीअरबबाट छुट्टीमा आएका अशोक श्रीमतीको उपचारको क्रममा साउदी जानबाट वञ्चित बनेका छन् । कवितालाई सहयोग गर्न इच्छुक व्यक्तिले सन्राइज बैंकको खाता नम्बर ०४२१०३११८७३०१५ मा रकम जम्मा गर्न वा मोबाइल नम्बर ९८६२७४२७६४ मा सम्पर्क गर्न सक्ने परिवारले जनाएको छ ।