काठमाडौँ, १८ जेठ । ग्रीन सिटी अस्पताल बसुन्धराले आगामी दिनमा स्वास्थसेवासम्बन्धी सामाजिक दायित्वका विभिन्न कार्यक्रमलाई तीव्रता दिने भएको छ ।
अस्पताल सञ्चालनको चार वर्षको अवधिमा उक्त अस्पतालले गरिब तथा विपन्न वर्गका १० जना मुटुरोगीलाई निःशुल्क औषधिसहित शल्यक्रिया सेवा प्रदान गरिसकेको छ । पछिल्लो पटक सिमेन्ट बोकेर दैनिक गुजारा गरिरहेका ओखलढुङ्गा कुन्तादेवीका कमल धमलाको निःशुल्क मुटुको शल्यक्रिया (ओपनहार्ट सर्जरी) गरेको छ ।
हस्पिटलले सेभ द हार्ट र नेसनल हार्ट संस्थाको समन्वयमा बिरामी धमलालाई शल्यक्रिया गर्न लाग्ने रु चार लाख आर्थिक सहयोग उपलब्ध गराएको थियो । जन्मजात मुटुमा प्वालसँगै फोक्सोबाट मुटुमा आउने नली उल्टो अवस्थामा रहेको धमलाको शल्यक्रिया सानो घाउ बनाएर गरिएको अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले जानकारी दिनुभयो ।
मुलुकको स्वास्थ्य सेवा सरल, सुलभ, गुणस्तरीय र विश्वसनीय बनाउँदै कुनै पनि नागरिक उपचारका लागि विदेश जान नपरोस् भन्ने उद्देश्य राखेर स्वास्थ्य क्षेत्रमा नमुना अस्पताल बनाउने योजनाका साथ पछिल्लो छ महिनाभित्रै अस्पतालले १६ वटा ओपनहार्ट सर्जरी गरिसकेको छ । उक्त अस्पतालका चिकित्सक डा अनिल भट्टराई भन्नुहुन्छ– जस्तोसुकै रोगको सर्वसुलभ र प्रभावकारी उपचार अव स्वदेशमै हुनसक्छ भन्ने उदाहरणका रुपमा हस्पिटलले छोटो समयमै यति धेरै ओपनहार्ट सर्जरीमा सफलता पाएको छ ।
ग्रीन सिटी अस्पतालले सामाजिक दायित्वअन्तर्गत रहेर आगामी असार २२ गते आङ खस्ने समस्या भोगिरहेका १०० जना महिलालाई निःशुल्क औषधि उपचारका साथै शल्यक्रिया सेवा समेत उपलब्ध गराउने जनाएको छ ।
वसुन्धरा, गोङ्गबु, महाराजगन्ज र धापासी क्षेत्रका बिरामीलाई समयमै अस्पताल पु¥याउन सहयोग पुगोस् भन्ने हेतुले उक्त अस्पतालले त्यस क्षेत्रमा कार्यरत समाजको लागि युवा ऐक्यबद्धता नामक सामाजिक क्षेत्रमा कार्यरत संस्थालाई एम्बुलेन्स समेत प्रदान गरेको छ ।
ग्रीन सिटी अस्पतालमा हाल ट्रमा र मुटुसम्बन्धी समस्या लिएर जाने बिरामीको निकै चाप बढेको छ । युरोप र अमेरिकामा हुनेजस्तै सबैखाले रोगको उपचार यहाँ सम्भव छ, प्रविधि, डाक्टर र प्रविधिक स्वदेशमै छन, नयाँ सोच र गुणस्तरीय सेवाको लागि केही गरेर देखाउने छौँ, त्यसका लागि ग्रीन सिटीमा पुगेपछि बाँचिन्छ भन्ने पहिचान स्थापित गर्नेछौँ– अस्पतालको सेवा विस्तारमा सहयोग पु¥याइरहेका गैरआवासीय नेपाली सङ्घ अमेरिकाका अध्यक्ष केशव पौडेलले भन्नुभयो ।
बालिकाको पेटबाट आठ किलो दिसा
मलद्वारविहीन अवस्था रही लामो समयदेखि उपचार नपाएकी नौ महिनाकी लोकमाया सुनार र १३ वर्षीया लीला विक तथा ढाडको नसामा टयुमर पलाएर थला परेका नुवाकोट वागेश्वरीका बालक सुजन तामाङलाई पनि अस्पतालले निःशुल्क उपचार गरेको थियो ।
सुजन टयुमरका कारण दिसा पिसाब चुहिने समस्यासमेत भोग्दै आएका तथा मलद्वार नभएकी बालिकाको पेटबाट आठ किलोसम्म दिसा निकालिएको अध्यक्ष टण्डनले उक्त अस्पतालद्वारा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
अस्पताललाई नाफामूलक मात्र होइन, सेवामूलक बनाउन योगदान दिने सोचका साथ ग्रीन सिटी अस्पतालबाट खटिएको चिकित्सकको टोलीले केही समयअघि दैलेखमा स्वास्थ्य शिविर सञ्चालन गरी ४६५ जनाको स्वास्थ्य परीक्षणका साथै पाठेघर खसेका ४० को निःशुल्क शल्यक्रिया गरेको जनाइएको छ ।