पोखरा, १७ जेठ । सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले पहिचान र अधिकार प्राप्ति नहुँदासम्म आफूहरुको आन्दोलन जारी रहने बताउनुभएको छ ।
सङ्घीय गठबन्धन र तमुवान संयुक्त सङ्घर्ष समितिको व्यवस्थापनमा आज यहाँ आयोजित जनप्रदर्शन एवम् विरोधसभामा सङ्घीय गठबन्धनका संयोजक समेत रहनुभएका यादवले सत्ता स्वार्थको हतारका कारण ‘फास्ट ट्र्याक’को नाममा उत्पीडित वर्ग र समुदायका पहिचान र अधिकारलाई संविधानमा नसमेटिएको बताउनुभयो ।
सङ्घीय समाजवादी फोरमका वरिष्ठ नेता अशोक राईले सरकारले जनताका आवाज नसुन्ने हो भने आन्दोलनलाई थप सशक्त बनाउँदै लैजाने बताउनुभयो । राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारीले सङ्घीय गठबन्धनलाई फुटाउन षडयन्त्र भइरहेको बताउँदै विविधतायुक्त राज्यमा सबैको समान प्रतिनिधित्व आवश्यक हुने बताउनुभयो ।
सङ्घीय लिम्बुवान पार्टीका अध्यक्ष कुमार लिङ्देनले संवैधानिक रुपमा पहिचान नसमेटिएसम्म आन्दोलन जारी रहने बताउनुभयो । सो अवसरमा तमुवान संयुक्त सङ्र्घष समितिका संयोजक हुमबहादुर गुरुङ, आदिवासी जनजाति राष्ट्रिय आन्दोलनका प्रवक्ता प्रा डा ओम गुरुङलगायतले आआफ्ना धारणा राख्नुभयो ।