काठमाडौँ, २१ जेठ । गृहमन्त्री शक्तिबहादुर बस्नेतले जातीय भेदभाव र छुवाछूतको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
राष्ट्रिय दलित आयोग र दलित नागरिक समाजले आज यहाँ आयोजना गरेको ‘जातीय भेदभाव तथा छुवाछूत उन्मूलन दिवस २०७३ अवसर र चुनौती’ विषयक अन्तक्र्रियामा उहाँले २१औँ शताब्दीमा जातीय भेदभाव र छुवाछूत सामाजिक कलङ्क भएकाले यसको अन्त्य गर्नुपर्ने बताउनुभयो ।
गृहमन्त्री बस्नेतले जातीय भेदभाव र छुवाछूत अन्त्य गर्न संसद्, सरकार र दलित आफैँ सक्रिय भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “संविधानले दलितको धेरै हक अधिकारलाई समेटेको छ यसलाई रक्षा गर्नु पहिलो आवश्यक हो ।” उहाँले कानुनी अधिकारका लागि दलितलाई सक्रिय हुनसमेत आग्रह गर्नुभयो ।
दलित आयोगका अध्यक्ष मानबहादुर नेपालीले समाजमा विस्तारै छुवाछूत हट्दै गए पनि केही ठाउँमा यो क्रम जारी रहेको भन्दै यसलाई रोक्नका लागि सरकार जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले दलितमाथि हुने भेदभावका बारेमा आएको उजुरी बुझ्न गृहमन्त्रालयले आफ्नो मातहतका कार्यालयलाई परिपत्र गर्नु आवश्यक रहेको बताउँदै दलितसम्बन्धी बनेको ऐनलाई प्रहरीको पाठ्यक्रममा समावेश गर्न माग गर्नुभयो ।
सो अवसरमा मन्त्री बस्नेतले ‘संविधानमा दलित अधिकार’सम्बन्धी पुस्तक विमोचन गर्नुभएको थियो ।