फलेवास (पर्वत), २६ जेठ । मानो खाएर मुरी उब्जाउने महिना असार महिना सुरु हुनै लाग्दा पर्वतमा धान, कोदो रोपाइँ सुरु भएको छ ।
विगतमा परेको लामो समयको खडेरीका कारण जिल्लाका सबै ठाउँमा रोपाइँ हुन नसके पनि सिञ्चित र खोलानालाका आसपासमा यसै सातादेखि रोपाइँ सुरु भएको हो । मूल फुट्ने गरी वर्षा नपरेकाले जिल्लाका सबै ठाउँमा रोपाइँ हुन सकेको छैन । उच्च पहाडी क्षेत्रका कृषकले कोदो र धान सँगसँगै रोप्न थालेका छन् ।
जिल्लाको खौलालाकुरी, ठूलीपोखरी, कार्कीनेटा, शालिजा, देउपुर, शङ्करपोखरी, बाच्छा, होश्राङ्दी, लुङ्खुदेउराली, देउपुर, देउराली लगायतका गाविसमा धान रोपाइँ सुरु भएको हो । खडेरी परेकै समयमा बीउ राखेका कृषकले केही दिनदेखि परेको वर्षासँगै खोलानाला पनि बढेकाले रोपाइँ गर्न सुरु गरेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।
जिल्लाका सबै ठाउँमा रोपाइँ भने मनसुन सुरु भएर मूल फुटेपछि मात्र सुरु हुने वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले जानकारी दिनुभयो । “नियमित वर्षा भएमा असार दोस्रो सातादेखि सबै ठाउँमा रोपाइँ सुरु हुन्छ”, उहाँले भन्नुभयो ।
पर्वत जिल्लामा धान फल्ने नौ हजार २१ हेक्टर जमिन रहेको छ । त्यसमध्ये बाहै्र महिना सिँचाइको सुविधा पुगेको ६ हजार ८०० हेक्टर जमिन रहेको छ । बाह्रैमास सिँचाइ हुने खेतमा रोपाइँका लागि समस्या नभए पनि अन्य ठाउँका कृषक भने वर्षा प्रभावकारी भएपछि मात्र रोप्ने तयारीमा रहेका छन् । पर्वतमा ठूला सिँचाइ योजना निर्माण भएकाले धेरै जमिनमा बाहै्रमास सिँचाइ हुन सक्ने जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ ।
सबैभन्दा बढी धान उत्पादन हुने देविस्थानमा २४३ हेक्टर क्षेत्रफल र कम उत्पादन हुने बनौँमा चार हेक्टर क्षेत्रफल रहेको छ । अहिले पर्वतमा छेमरोङ, खुमलटार, गौरीया, गुडुरा, मार्सी, पहेले, जर्नेलीलगायत जातका धान रोपिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । गत वर्ष पनि मनसुन ढिला भएका कारण साउनको अन्त्यमा मात्र रोपाइँ सकिएको थियो । तर पछि मनसुन सक्रिय भएकाले उत्पादनमा कुनै असर नपरेको कार्यालयले जनाएको छ ।