नेजाद्वारा उत्तम निरौला र निशा अधिकारीको साथ सानफ्रान्सिस्कोमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

नेजाद्वारा उत्तम निरौला र निशा अधिकारीको साथ सानफ्रान्सिस्कोमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
समाज
संस्कार भित्र र बाहिरका कुरुतिहरु अहिले पनि विश्व मानवसमुदायका लागि ठुलो चुनौती बनेर रहेका छन् । कतै धर्मको नाम र कतै रुढिग्रस्त अन्धविश्वास नै यसको जड हो । यसबाट अहिले पनि सयौँको ज्यान जाने गरेको छ भने हजारौँ मानिस प्रताडित भएर बसेका छन् ।
यस विषयका अनुसन्धानकर्ता तथा लेखक उत्तम निरौला यसैसँग सम्बन्धित एक कार्यक्रममा भाग लिन अमेरिकामा आउनु भएको छ । त्यस्तै सगरमाथा आरोही कलाकार नायीका निशा अधिकारी पनि सम्मान थाप्न अमेरिका आइ पुग्नु भएको छ । अमेरिकामा रहेका फरक–फरक क्षेत्रका दुई प्रतिनिधिलाई एउटै थलोमा राखेर अगष्ट १४ तारिक नेपाल अमेरिका पत्रकार सङ्घ नेजाले अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।  आधुनिकता तर्फ लम्कदै गरेको नेपाली समाजमा आजपनि संस्कृतिका नाममा कुरीतिहरुलाई पालेर राखिएको विश्व मानववादी महासंघका केन्द्रीय सदस्य तथा सोच नेपालका निर्देशक उत्तम निरौलाले बताउनु भयो । जसमध्ये बोक्सी,  दाईजो,  देउकी,  छाउपडी,  बालविवाह जस्ता कम्तीमा ५७ वटा कुरीतिका कारण बर्सेनि हजारौँ नेपाली हिंसाको शिकार भईरहेको तथ्य निरौलाले सार्वजनिक गर्नु भयो ।
NishaWith-NEAJA
नेपाली समाजमा कन्यालाई दान दिने विषय पवित्र कार्य मानिन्छ । दान दिएकी कन्यालाई पुनः बाबुआमाको घरमा आएर बस्न धर्मले दिँदैन । अर्कालाई दान दिएकी छोरीले आफू मरेपछि पिण्ड दिनु हुँदैन भन्ने धार्मिक मान्यता भएकाले बाबु आमाले आफू मरेपछि पिण्ड पाउनकै लागि छोरा जन्माउनु पर्ने अन्धविश्वासका कारण छोरीको भ्रुण हत्या गरीरहेको उहाँको तर्क छ । त्यस्तै, जीवित देवीका रूपमा पूजा गरिने कुमारीको छनौटमा हुने अभ्यासले वाल मनोविज्ञानमा पार्ने प्रभाव साथै स्वतन्त्रता र वालअधिकारका पक्षमा उभिएर हेर्दा न्यायोचित नदेखिने पक्षको निरौलाले चर्चा गर्नु भयो ।
बालिकाहरुलाई विभिन्न डर र त्राशहरुले आतंकित बनाउने,  उनकै अगाडी राँगो हत्या गरी रगत छर्किने,  कुमारी भईसकेपछि आफ्नो इच्छाले कोठा बाहिरपनि निस्कन नपाउने,  अरूसँग बोल्न नपाउने,  अभिभावकसँग बस्न नपाउने,  स्कुल जान नपाउने,  साथीहरूसँग खेल्न नपाउने,  अस्पताल समेत जान नपाउने र उनीहरूलाई विवाह तथा सन्तान प्राप्तिको हक समेत नरहेको यथार्थलाई कार्यक्रममा प्रस्तुत गरियो ।
कुमारी संस्कृतिलाई जिवितै राख्नकालागि जीवित बालिकाको सट्टा कुमारीको मूर्ती बनाएर संस्कृतिलाई आधुनिकिकरण गर्नु समय सापेक्ष हुने उहाँको सुझाव रहेको छ ।  मानववादी समाज (सोच) नेपालले सन् २०१० मा गरेको एउटा अध्ययन प्रतिवेदनमा नेपालमा हरेक ३८ दिनमा एकजनाको विभिन्न कुरीतिका नाममा हत्या भई रहेको उल्लेख छ । लैंगिक हिसाबले हेर्ने हो भने यस्ता घटनामा ९६ प्रतिशत महिला र ४ प्रतिशत पुरुषहरू सिकार हुने गरेको देखिन्छ ।
NishaWith-NEAJA2
घटनाहरूलाई वर्गिकृत गर्दा सबै भन्दा बढी दाईजोका कारण महिलामाथि हिंसा भइरहेको देखिन्छ । त्यसपछि बोक्सीका नाममा हुने हिंसाका घटना अझ जघन्य र दर्दनाक छन् । यो दुखद वेदनालाई कम गर्न ढिलै भए पनि एक वर्ष अगाडि मात्र नेपालले बोक्सी प्रथाविरुद्ध ऐन जारी गरेको छ । उस्तै प्रकृतिको ऐन जर्मनीले सन् १७२५ मा जारी गरेको थियो ।
निरौला विश्वभरका मानववादीहरुको छाता महासंघ अन्तर्राष्ट्रिय मानववादी तथा नैतिक महासंघ (आई एच ई यु) का केन्द्रीय समिति सदस्य हुनुहुन्छ । सन् १९५० मा स्थापित संस्था आईएचईयुमा विश्वभर करिब १ सय ४० संस्थाहरू आबद्ध छन् । निरौलाले नेपाल र हिन्दु संस्कार भित्र रहेका कुरुतिहरुमा बढी केन्द्रित भए पनि मुस्लिम र क्रिश्चियन धर्मका नाममा गरिने मानवता विरुद्धका जघन्य अपराधको समेत चर्चा गर्नु भयो ।
नेपाल अमेरिका पत्रकार सङ्घको अन्तरक्रियामा उपस्थित आईएचईयुका निर्देशक कार्ल व्ल्याकबर्नले  विश्वभर नै विभिन्न रूप र शैलीमा कुरुतिहरु जरो गाडेर बसेको बताउनु भयो । यस्ता अमानविय कार्य के कसरी भइरहेका छन् र त्यसको निवारण कसरी गर्न सकिन्छ भनेर आईएचईयुले काम गरिहेको उहाँको भनाइ थियो । नेजाको अन्तरक्रियामा अर्को महत्त्वपूर्ण विषयमा पनि सहभागिहरुले उत्तिकै रुचि राख्नु भएको थियो । हुन त पर्वतारोहण नेपालको अर्थतन्त्रको महत्वपूर्ण अंश पनि हो । पर्यटन व्यवसायले नेपालको कुल ग्राहस्थ उत्पादनको ८ प्रतिशत हिस्सा ओगटेको छ ।
NishaWith-NEAJA1
विश्वभरका अरोहीहरुको अन्तिम लक्ष भनेको सगरमाथाको अरोहण नै हो । यो आफैमा जोखिमपुर्ण पनि छ । सगरमाथा आरोहणका क्रममा करिब ३ सय आरोहिले ज्यान गुमाइसकेका छन् भने एकहजार भन्दा बढी अंगभंग भएका छन् ।
यस्तो तितो तथ्य थाहा हुँदा हुँदै पनि सगरमाथा आरोहण गरेर कृतिमानी वनेकी नायीका निशा अधिकारीले आरोहण गर्दाका क्षणहरुलाई कार्यक्रममा सविस्तार प्रस्तुत गर्नु भयो । मिठो, सरल र जीवन्त प्रस्तुतिका कारण कार्यक्रमका सहभागीहरू सगरमाथा नै पुगेको अनुभूति गर्दै थिए । सहभागिहरुले निशा अधिकारीलाई भने हामीले पनि सगरमाथा नै पुगेको अनुभिति गरयौं ।
थुप्रै लासहरु अहिले पनि सगरमाथामै छन् । उचाइ र हिउका कारण लास बाहिर ल्याउन नसकिएका कारण त्यसकै छेउछाउवाटै आरोहण गर्नुको विकल्प नरहेको बताउदै निशाले त्यहाँ आफ्नो र शेर्पाको ज्यान जोगियोस भन्ने मात्र चाहा बाकी रहने अनुभूति वाढ्नु भयो । सगरमाथा आरोहणकै कारण यसपटक नायीका निशा अधिकारीलाई अमेरिकामा जारी अन्तर्राष्ट्रिय फिल्म फेष्टिवल (फग)मा ’सगमाथा आरोही कलाकार सम्मान’ समेत प्राप्त भएको छ ।
कार्यक्रममा नेपाल अमेरिका पत्रकार सङ्घ नेजाका महासचिव तोया दाहाल, क्षत्रीय संयोजक ध्रुव कुँवर,  पूर्व क्षत्रीय संयोजक जाङ्वु शेर्पाले आफ्नो मन्तब्य राख्नु भयो भने कार्यसमिति सदस्य सन्दिप बाबु चौधरीले कार्यक्रमलाई सहजिकरण गर्नु भयो । नेपाल अमेरिका पत्रकार सङ्घ (नेजा)ले यस्ता कार्यक्रम अमेरिका र क्यानडामा गर्दै आएको छ ।

Post Comment