पोखरा, १३ भदौ । महिला उद्यमी गोमा ढकालले पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । सोमबार पत्रकार सम्मेलन गरी उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी हुन् । संघको ३१ औं महाधिवेशन भदौ ३१ र असोज १ गते हुँदैछ ।
व्यवसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय रहेकाले व्यवसायीहरुको छाता संस्था पोखरा उद्योग वाणिज्य संघमा उम्मेदवारी दिने उनले बताइन् । व्यवसायिक तथा उद्यमशीलताको विकासका लागि काम गर्ने सोचका साथ आफूले उम्मेदवारी दिने उनको भनाइ छ । पर्यटन, उद्योग, व्यवसाय तथा उद्यमशीलताको प्रवद्र्धनका लागि आफू सक्रिय हुने उनको प्रतिबद्धता छ ।
कार्यसमिति सदस्यमा आफ्नो जित सुनिश्चित भएको उनको दावी गरिन् । रेन्बो ह्याण्डिक्राफ्ट उद्योग, रेन्बो भ्याली ट्रेकिङ एण्ड एक्सपिडिसन, इन्द्रेणी अर्गानिक फार्म र इन्द्रेणी होम स्टेका सञ्चालक ढकाल विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छन् ।
पोखरा उद्योग वाणिज्य संघ महिला विकास समितिका सदस्य ढकाल बालगृहहरुको महासंघ नेपालका द्वितीय राष्ट्रिय उपाध्यक्ष हुन् । बालगृह सञ्जाल कास्कीका निबर्तमान अध्यक्ष, पोखरा उद्योग वाणिज्य संघ बालश्रम न्युनीकरण कार्यक्रमको सल्लाहकार, गैरसरकारी संस्था महासंघ कास्कीका कोषाध्यक्ष, पोखरा हस्तकला संघका कार्यसमिति सदस्य, सामुदायिक जिल्ला समन्वय समिति कास्कीका सल्लाहकार, वडास्तरीय महिला समन्वय समिति पोखराका सल्लाहकार, ताल वाराही उच्च मावि स्कुल व्यवस्थापन समिति सदस्य लगायतका सामाजिक संघसंस्थामा ढकाल आबद्ध छन् ।
महिला उद्यमशीलताको क्षेत्रमा लामो समय काम गरेकाले पनि आफ्नो जित सहज हुने ढकालको विश्वास छ । ‘पर्यटन तथा अन्य व्यवसायीहरुको सल्लाह तथा सुझाव लिएर उम्मेदवारीको घोषणा गरेकी छु,’ उनले भनिन्, ‘सबै उद्योगी व्यवसायीको साथ र सहयोगबाट विजयी बन्ने विश्वास लिएकी छु ।’
पत्रकार सम्मेलनमा बोल्दै अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले व्यवसायीहरुको साझा संस्था पोखरा उद्योग वाणिज्य संघमा राजनीति गर्न नहुने धारणा राखे । ‘राम्रो मान्छेलाई जिताउनुपर्छ,’ उनले भने, ‘उद्योग वाणिज्य संघलाई सबैको साझा बनाउन सक्नुपर्छ ।’ फोटो झुण्ड्याउनका लागि मात्र संघमा प्रवेश गर्ने परिपाटीको अन्त्य गरिनुपर्ने उनले बताए ।