१८ कात्तिक । मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आज सुरु भएको छ । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न बिधि गरेर मनाइने छठ पर्व आज ‘नहाय–खाय’ विधिसँगै सुरु हुन लागेको हो । छठ पर्व सुरु भएसँगै गाउँनगर बस्तीमा छठी गीत गुञ्जिरहेका छन् ।
सूर्यदेवको उपासना गरिने यस पर्वको पहिलो दिन आज (कात्तिक शुक्ल चौथीका दिन) व्रतालुले व्रत सङ्कल्प गरेर पवित्र स्नान गरेर चोखोनितो खान्छन् । पहिलो दिनको यो विधिलाई बोलीचालीमा ‘नहाय–खाय’ भन्ने गरिन्छ । पर्वको दोस्रो दिन पञ्चमी तिथिमा व्रतालुले दिनभरि निराहार व्रत बसेर राति सख्खरमा पकाइएको खीर मात्र खाएर ‘खरना’ विधि सम्पन्न गर्नेछन् ।
यसैगरी, पर्वको मुख्य दिन मानिने षष्टी तिथिका दिन बिहानै न्वाई–ध्वाई गरेर निराहार व्रत बसेका व्रतालुले साँझ अस्ताउँदा सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अघ्र्य दिने गरिन्छ । मिथिलामा यो विधिलाई ‘सझुका अरख’ भनिन्छ ।
झिलीमिली पारेर सजाइएको पानीघाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अघिल्लो दिन अस्ताउँदा सूर्यलाई अघ्र्य दिँदा देखाइएका सामग्री देखाएर अर्को अघ्र्य दिएपछि यो पर्व सम्पन्न हुने परम्परा छ । उदाउँदो सूर्यलाई दिइने यो अघ्र्यलाई ‘भोरका अरख’ भनिने गरिएको छ ।
छठ पर्वका लागि पूजा सामग्री र नैवेद्य तयार गर्दा अत्यन्त सावधानीका साथ चोखोनितोको ख्याल गरिनुपर्ने आम मान्यता रहेको मिथिला लोक संस्कृतिका जानकार बताउँछन् ।