२९ कात्तिक । एकवर्ष अघिदेखि बेपत्ता पोखरा अल्ट्रालाइट कम्पनिको अल्ट्रालाइट जहाज आइतबार बिहान फेला परेको छ । पोखरा विमानस्थलबाट उडेपछि हराएको जहाज माछापुच्छ्रे र अन्नपूर्ण हिमालबीचको खोचमा टुक्राटुक्रा अवस्थामा फेला परेको हो ।
पोखरा अल्ट्रालाइट कम्पनिका संचालक पोमनारायण श्रेष्ठले समुन्द्र सतहदेखि करिब १२ हजार फिट उचाईमा टुक्राटुक्रा अवस्थामा जहाज फेला परेको जानकारी दिए । वेपत्ता जहाज सहित त्यसमा रहेका पाइलट र यात्रु दुवैको शरीरका हड्डि मात्र फेला परेको श्रेष्ठले बताए ।
जहाज पोहोर अघिल्लो बर्षको असोज २१ गते हराएको थियो । पोखरा विमानस्थलबाट उडेको ‘९एन एएलआइ’ कलसाइनको जहाजलाई रसियन पाइलट ५० बर्षीय भ्यालरी बुटेरिनले उडाएका थिए । जहाजमा दक्षिण अफ्रिकी महिला ४० बर्षीया एलिजावेथ वेल यात्रारत थिइन् ।
शरीरको हड्डि र खप्पर, तथा दाँत र जहाजको पांग्रा सहित केही भाग संकलन गरेर ल्याएको उनले जानकारी दिए । उनका अनुसार जहाजको इन्जिन र पखेटासहित धेरैजसो भाग जलेको छ । मानव हड्डि परपर उछिट्टएको अवस्थामा संकलन गरिएको तर ब्लाकबक्स भने फेला पार्न नसकिएको उनले बताए ।
आइतबार सशस्त्र प्रहरीको पोखरास्थित कालिका गणका प्रहरी हवल्दारद्वय पूर्णलाल देवकोटा र तेजेन्द्र बुढा हेलिकोप्टरमा गएर जहाज र मानवहड्डि संकलन गरेका थिए ।