पोखरा ११ मंसिर । पोखराको दोविल्लामा आज भएको जिप दुर्घटनामा २ जनाको ज्यान गएको छ । पोखरा १७ दोविल्लाबाट पृथ्बीचोक तर्फ आउने गरेको ग १ च ४५८९ नम्बरको जिप दिउसो साढे १ बजे दुर्घटना हुदा एक १४ बर्षिय वालिका सहित दुईको घटनास्थलमै ज्यान गएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार जिप दुर्घटनामा पोखरा भरत घर भई पोखरा ४ महेन्द्रपुल बस्ने १४ बर्षिय लिसा महित्रा र रौतहट दुधिया ६ का २० बर्षीय अरविन्द्र चौधरीको ज्यान गएको हो । गाडी चालक रुपन्देहीका भोला भारती प्रहरीको नियन्त्रणमा छन् ।
पिकनिक गएर फर्किदै गरेको जिप दुर्घटना भएको हो । जिपमा चालक सहित १५ जना सवार थिए । दुर्घटनामा १२ जना घाइते छन् । घाइतेको नमस्ते अस्पताल र फेवासिटी अस्पतालमा उपचार भैरहेको छ । घाइते मध्ये २१ बर्षिय रामानन्द चौधरीको अबस्था गम्भिर छ । जिप तिब्र गतिको कारण दुर्घटनामा परेको अनुमान छ ।