१६,मङ्सिर । रुपन्देहीबाट तामझामका साथ पोखरा आएको जन्तीले दुलही नै लैजान पाएन । उता, रत्यौलीमा झुमेको देवदह ११ स्थित दुलाहाको घरमा पोखराको घटनाले सन्नाटा छायो । बेहुली पक्षले पनि निम्तालु फर्काउन विवश भयो । चलचित्रमा यस्तो दृश्य देखिरहेका पोखराका बुद्धचोकबासीले विहीबार आँखै अगाडि वास्तविक रुपमा अनुभूत गर्न पाए ।
त्यहाँस्थित कान्तिपुर पार्टी प्यालेसमा विवाहको मण्डप तयार भईसकेको थियो । दुलाहा लिएर जन्ती टोली आउँदै थिए । आमन्त्रण गरिएका पाहुनाहरु पनि विवाहस्थल पुग्ने क्रम जारी थियो । दुलही ब्युटीपार्लरमा सिंगारपटारमा व्यस्त थिईन् । विवाह सुरु हुनै लागेको थियो । दुलाहा मण्डपमा पुग्नु अघि नै कास्कीका महिला अधिकारर्मी, प्रहरी टोली पुगेपछि त्यहाँको माहौल एकाएक फेरियो । दुलहीको उमेर नपुगेको कारण बालविवाह भएकोमा टोलीले जन्ती यसै फर्काईदिएपछि दुलाहा पक्ष त्यहाँबाट निराश बन्दै फर्कियो ।
तर, दुई पक्षलाई मिलाउन कम्ता मेहनत गर्नुपरेन । घरपक्ष र माईती पक्षले जसरी पनि बिवाह प्रक्रिया अघि बढाउने ढिपि कसे । यता, अधिकारकर्मीको टोलीले हुनै नदिने अडान त्यागेनन् । अन्तमा विवाह अघि नबढाउने सहमति भयो र प्रहरीले हस्तक्षेप गर्नुपर्ने अवस्था नआएको वडा प्रहरी कार्यालय रामबजारका प्रमु्ख प्रहरी निरीक्षक बेद जोशीले बताए । सहमतिमा विवाह नरोकिए किशोरीको उद्धार गर्ने र अभिभावकलाई नियन्त्रणमा लिने तयारीसमेत थियो ।
२३ वर्षीय युवकको विवाह १६ वर्ष समेत नपुगेकी किशोरीसँग हुन लागेको थियो । पर्वत पाखापानी–९ लाम्तुनकी ती किशोरी ड्यामसाइडमा बसेर पोखराकै एक बोर्डिङमा ९ कक्षामा पढ्दै आएकी छिन् । युवक भने हङकङ आईडीवाल रहेको बताईन्छ । गुरुङ थरका ति दुई परिवारले मामा चेली र फुपु चेलोबीच हक लाग्ने भन्दै युवक नेपाल आएको बेला बिहे गर्न लागेको श्रोतले बताएको छ ।
तर किशोरीको उमेर नपुगेकोबारे पहिल्यै जानकारी आएपछि अधिकारकर्मी टोली विवाह बिथोल्न त्यसरी पुगेको हो । महिला तथा बालबालिका कार्यालय कास्की बाल संरक्षण अधिकृत बिन्दु भण्डारी, केन्द्रीय बालकल्याण समितिका बाल अधिकार स्रोतव्यक्ति बद्री वाग्ले, पोखरा उपमहानगरपालिका बालबालिका शाखा कार्यक्रम अधिकृत दुर्गा न्यौपाने, शक्ति समुहकी अनिशा लामा, वडा प्रहरी कार्यालय रामबजार महिला तथा बालबालिका सेल प्रतिनिधि सहितको समूहले विवाह हुनबाट रोकेको हो ।
लामो छलफलपछि जन्ती र बेहुली पक्षबीच अहिले विवाह नगर्ने निधो गरेका थिए । जन्ती टोली भोज नै नखाई फिर्ता भए । संरक्षण अधिकृत भण्डारीले भनिन्– ‘विवाह नभएपछि जन्ती टोली पनि भोज खान उचित नठानी हिँडे । भोज त खान मिल्लानि भनेर भनेका थिए, हाम्रो सवाल विवाह रोक्नु भएको भन्यौं तर जन्तीले खाएनन् ।’ पोउमनपा बालबालिका शाखा कार्यक्रम अधिकृत दुर्गा न्यौपानेले विवाह जस्तो समारोह रोक्नु अत्यन्त कठिन कार्य भएको बताईन् । ‘त्यति टाढाबाट आएको सबै तामझामका साथ बसभरी जन्ती बोकेर आएका थिए । आफै छोरीकी आमा भएको नाताले यस्तो दिनको सामना गर्नु साह्रै दुःख लाग्यो ।’ उनले भनिन्– ‘तर कानुन विपरित कार्य थियो । किशोरीको स्वास्थ्य अवस्थाको सवाल थियो । दुलाहा र दुलही एकठाउँ समेत पर्न पाएनन् ।’
स्थायी रुपमा हङकङमा बसेको युवक र जातिय संस्कारका कारण पनि दुवै परिवारबीचको सहमतिमा हुन लागेको विवाह पार्टी प्यालेसमा रोक्दैमा रोकिन्छ त ? भन्ने प्रश्नमा उनले थपिन्– ‘सार्वजनिक रुपमा बालविवाह रोक्नु हाम्रो कर्तव्य हो । दुवै पक्षलाई सम्झाएका छौं । हामीबाट बुझ्ने काम भईरहन्छ ।’ यद्यपी उनले तत्काल सुटुक्क बिहे हुन सक्ने सम्भावनालाई नकार्न सकिनन् ।
किशोरीको मनमा आफ्नो विवाह भाँडिएको, अर्को विवाहमा यसले पार्ने प्रभाव, यही कारण उत्पन्न हुन सक्ने समस्याबारे बेहुलीलाई परामर्श दिने आवश्यकता बोध भयो कि भएन ? भन्ने प्रश्नमा न्यौपानेले विवाह रोकिएकोमा बेहुलीले दुःखमनाउ नगरेको प्रष्ट पारिन् ।
प्यालेसमा विवाह रोकिएपनि जन्ती खाली फर्किएन कि ? वडा प्रहरी कार्यालय रामबजारका प्रमुख जोशीलाई यो प्रश्न तेर्साएपछि उनी भन्छन्– ‘हामीलाई त्यस्तो सूचना आएको छैन । दुलाहा र दुलही पक्ष आफ्नो बाटो लागेपछि फर्किएका हौं ।’ संरक्षण अधिकृत भण्डारीले पनि भोलिका दिनहरुमा किशोरी विद्यालय आउने नआउने फलोअप गर्ने बताउँदै जन्ती खाली हात नै फर्केको दाबी गरिन् ।
अधिकारकर्मी टोलीका अनुसार विवाहकै लागि बालिकाको उमेर बढाईएको पाईएको छ । गत जेठ ९ मा बनाईएको जन्मदर्ता प्रमाणपत्रमा २०५५ माघ १९ उल्लेख छ भने उनले पढ्ने विद्यालयमा रहेको अभिलेख र ८ कक्षाको लब्धांक पत्रमा २०५७ माघ १९ गते जन्ममिती रहेको न्यौपानेले बताईन् ।
कार्यालयमा जानकारी आएपछि दुई दिन अघिदेखि नै यसबारे निगरानी गरेको थियो । प्रहरी प्रशासन र पोखरा उपमहानगरपालिका कार्यालयलाई समेत जानकारी गराएपछि टोली त्यहाँ पुगेको थियो । सार्वजनिक रुपमा हुने विवाह रोकिनु नै ठूलो कुरा भएको महिला तथा बालबालिका कार्यालय प्रमुख लक्ष्मीदेवी जिसीले बताइन् । यसबारे बेहुला बेहुलीका दुवै परिवार बोल्न चाहदैंनन् । पारिवारिक सम्बन्ध रहेका कारण पनि दुई परिवारको सुमधुर सम्बन्ध यथावत् रहेको बताईन्छ ।
मुलुकी ऐनको बिहाबारीको महलमा १० वर्ष नपुगेकी बालिकाको विवाह गरेगराएमा ६ महिनादेखि तीन वर्षसम्म कैद र एक हजारदेखि १० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ। १० वर्षदेखि १४ वर्ष नपुगेकी बालिकाको विवाह गरेगराएमा तीन महिनादेखि एक वर्षसम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ। १४ वर्षदेखि १८ वर्ष नपुगेका बालिकाको विवाह गरेगराएमा ६ महिनासम्म कैद वा १० हजार रुपैयाँ जरिबाना वा दुवै सजाय हुने व्यवस्था रहेको छ । साथै पुरोहित, लमी र अन्य सहयोगीलाई पनि १ महिनासम्म कैद वा १ हजार रुपैयाँसम्म जरीवानाको व्यवस्था उक्त महलमा छ ।
रन्जन अधिकारीको सहयोगमा