नदीमा फोहर फाल्नेबाट रु १२ लाख जरिवाना 1

समाज

२५,मङ्सिर । काठमाडौँ उपत्यकाका प्रमुख नदी सफाइ गरी आज २२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।

वाग्मती सफाइको १८७ औँ हप्तामा आज टेकु पुलपारि ललितपुरको सानेपा क्षेत्रमा सफाइ गरी १२ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । स्वतःस्फूर्त रुपमा सफाइमा उपस्थित भएकाहरुलाई दुई समूहमा विभाजन गरी एक समूहले नदीभित्र छिरेर सफाइ गरेको र अर्को समूहले जनचेतनामूलक कार्यक्रम गरेको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका पुरुषोत्तम कँडेलले बताउनुभयो ।

सानेपा क्षेत्रका घरदैलामा गई ‘नदीमा फोहर नफालौँ, फोहर फाल्नेलाई कारबाहीको दायरमा ल्याऔँ, उपत्यकाका नदी सफाइ अभियानमा आफूलाई नजिक पर्ने स्थानमा सहभागी बनौँ’ भनी जागरणमूलक कार्यक्रम गरिएको उहाँले जानकारी दिनुभयो ।

सफाइ महाअभियानलाई ललितपुर उपमहानगरपालिकाले सय थान डोको तथा स्पर्श नेपालले पाँच थान साधारण र दुई सय थान मोटो पन्जा हस्तान्तरण गरेका छन् ।

सफाइमा मुख्यसचिव डा सोमलाल सुवेदी, पूर्वसचिवद्वय किशोर थापा र केशव भट्टराई लगायतले नेतृत्व गर्नुभएको थियो । अधिकारसम्पन्न वाग्मती समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, उपमहानगरपालिका लगायत संस्थाको सफाइमा संस्थागत सहभागिता थियो । नदीमा फोहर फाल्नेबाट उपमहानगरपालिकाले हालसम्म रु १२ लाख जरिवानास्वरुप उठाएको जनाइएको छ ।

यसैगरी रुद्रमती सफाइको १४६ औँ हप्तामा आज ज्ञानेश्वरस्थित आकाश भैरव मन्दिर परिसरमा सफा गरिएको रुद्रमती सरोकार समाजका अध्यक्ष वासुदेव मरासिनीले जानकारी दिुनभयो ।

सो अवसरमा मन्दिर परिसरबाट दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो । प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा समाज, वातावरण संरक्षण अभियान, वेलकेयर अस्पताल, महानगरीय प्रहरी वृत्त गौशाला र कमलपोखरी, कामपाका ७, ९ र ३३ वडा कार्यालयको पनि सफाइमा सक्रियता थियो ।

विष्णुमती सफाइको १२० औँ हप्तामा भने आज परोपकार पुलमुनि वारिपारि सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विष्णुमती नदीलाई छुने महानगरपालिकाका २० वटा वडाका कर्मचारी एवम् स्थानीयवासीको सक्रिय सहभागिता थियो । गुह्येश्वरीमाथिको वाग्मतीमा ‘राम्रो जोरपाटी हाम्रो जोरपाटी’, पुडासैनी मैत्री समाज, तिलगङ्गा महिला समूह र माकालबारी टोल सुधार समिति लगायतले सफाइ गरे ।

Post Comment