२९,मङ्सिर । गोरखाको मसेल गाविस–९ घ्याम्पेशालमा दिनहुँजसो सबेरै सारंगीको धूनसँगै गीत सुन्न पाइन्छ । गाउँलेका घर, आँगन पुगेर सारंगीको धूनसँगै गीत गाएर सुनाउने ती व्यक्ति हुन्, ७१ वर्षीय लालबहादुरगन्धर्व ।
धर्मराज थापाले गाएको ‘हाम्रो तेन्जिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ बोलकोगीत प्रायः उनले गाएर सुनाउँछन् ।९ वर्षको हुँदा सारंगी बजाउने सीप जानेका लालबहादुरले वृद्ध भइसके पनि यो कामलाई निरन्तरता दिइरहेका छन् ।सारंगी रेटेरै ९ सन्तान, आफू र श्रीमतीको लालनपालन गर्नु कम्ती चुनौतीपूर्ण थिएन । लालबहादुरले हिम्मत हारेनन् । सन्तान हुर्काएर शिक्षादीक्षा दिए ।
अहिले छोराहरु विभिन्न पेसामा संलग्न छन्, तैपनि लालबहादुर सारंगी बोक्छन् र गीत गाउँछन् ।उनले गीतमार्फत् समाचार, सूचना जनमानसमा पुर्याउन सहयोगी भूमिका निर्वाह पनि गरेका छन् ।
उनले रचना गरेको ‘किन दियो अल्छीको जन्म’ बोलको गीत रहेपनि रेकर्ड भएको छैन ।नेपाली सेना, रेडियो नेपाललगायत विभिन्न ठाउँमा जागिरे अनुभव बटुलेका उनले भने–‘सारंगी भिर्दै गीत गाउँदैमा जिन्दगीले नेटो काट्ने भो ।’हातगोडा चलुन्जेल सारंगी रेटेरै गीत गाउने धोको उनको छ ।
उनका जेठो छोरा एकबहादुर सारंगी बनाएर बिक्री गर्छन् । माइलो बलबहादुर कृषि पेसामा आबद्ध छन् भने साइला नेत्रबहादुरको निधन भइसक्यो ।काइँला छोरा धु्रव गैससका जागिरे हुन् । अन्तरे छोरोसुब्बा व्यापार व्यवसाय गर्छन् भने जन्तरे छोरा बाबुराम सरकारी जागिरे हुन् । पानीमन्तरे छोरो कमल बस चालक छन् ।ठूलोकान्छा छोरा ठाकुर सरकारी विद्यालयमा पढाउँछन् । कान्छो छोरा उदय नेपाली सेनामा जागिरे भएको लालबहादुरकी श्रीमतीगाजली गन्धर्वले जानकारी दिइन् ।
वि.सं. २०२२ मा रेडियो नेपालमा जागिरे हुँदा गन्धर्वले मासिक तीन सय रुपैयाँ पारिश्रमिक पाउँथे । तारन दल गुल्ममा जागिरे भएपनि उनले लामो समय जागिरलाई निरन्तरता दिएनन् ।
‘दसैं, तिहारमा गाउँ डुल्दा एकैदिनमा पाँच/६ हजार रुपैयाँ पनि कमाएँ’–लालबहादुरले भने ।सारंगी रेटेर कमाएको पैसाले छोराहरु पढाउने, बिहान–बेलुकी हातमुख जोर्ने कामका अलावा गन्धर्वले घ्याम्पेशालमा घरघडेरी पनि जोडेका छन् ।‘
आजभोलि कमाइ हुनै छाडेको छ’–उनले भने–‘बुढ्यौलीले छोएछ क्यारे भनेजस्तो स्वर आउँदैन, लामा गीत गाउन सक्दिनँ ।’अहिले दिनहुँ रु चार/पाँच सय कमाइ हुने उनले बताए । उनका ११ नाति र ९ नातिनी छन् ।उनले १७ वर्षको उमेरमा गाजलीसँग बिहे गरेका थिए ।
सारंगी रेटेर कमाएको पैसाले घर, व्यवहार चलाउन धौ–धौ परेपनि छोराछोरी हुर्काएर पढाउन सकेकामा गन्धर्व परिवार खुसी छन् ।‘भूकम्पले भत्काएको घर बनाउनुपर्नेछ’–उनले भने–‘संघर्ष गर्दैमा जीवन बित्ने रहेछ ।’