३०,मंसिर । दाईजोबिनाको विवाह अर्थात् कम्यूष्टिहरूले गर्ने प्रगतिशील विवाह । अनुमान गर्नुस् त केटीपक्षको कति खर्च हुन्छ यस्तो विवाह गर्दा ?
धेरैको अनुमान हुनसक्छ होला– यस्तो विवाह गर्दा त खर्च नै हुँदैन । वा एकदम थोरै हुन्छ । तर यस्तो अनुमान तपाई गर्नुभयो भने गलत सावित हुनेछ । मातृका यादबले आफ्नो छोराको प्रगतिशील विवाह गरेपनि उनका सम्धीको करीब १६ लाख बढी खर्च भयो ।
मातृकाका छोरा अमर यादबको विवाह बुधवार दिउँसो सिरहाको गोविन्दपुरका सोबिन यादबकी छोरी बबिता यादबसँग सम्पन्न भयो । विवाहमा सहभागी हुन हजारौं जन्ती सहभागी थिए । कहिल्यै गाडीको चाप नदेखेका गोबिन्दपुरबासी सयौं गाडी गुडेको मात्र देखेनन्, सडकको धुलो पनि मज्जैले खाए । सडकको छेउछाउ त एकछिन कुहिरो लागेजस्तै भएको थियो ।
बुधवार बिहान करिब १० बजे माओवादी नेता मातृका यादब जन्ती लिएर छोराको विवाह गर्न गोबिन्दपुर पुगिसकेका थिए । करिब साढे एघार बज्दा प्रधानमन्त्री ‘प्रचण्ड’ पनि पुगे । विवाह स्थलमा खचाखच भिड बढ्यो । एकछिनमै स्टेजमा दुलही लिएर उनका साथीहरू पुगिन् ।
दुलाहाले दुलही र दुलहीले दुलाहालाई माला लगाई दियो । दुलाहाले दुलहीलाई सुनको अंगुठी पनि लगाए । सुनको गहनाले दुलही परी जस्तै सजिएकी थिइन् । मधेसको परम्परा अनुसार दुई दिनसम्म विधि गरेपनि मात्र विवाह सम्पन्न हुन्छ । तर प्रगतिशील विवाह भने एकछिनमै सकियो ।
विवाहमा सुरक्षाकर्मीसहित करिब १५ सय जन्ती सहभागी भएको दुलहीका दाजु अमरेन्द्र यादबले बताए । उनका अनुसार जन्तीलाई खुवाउन १२ परिकार तयार भएको थियो । उनले भने, ‘१२ सय जन्ती र ३ सय सुरक्षाकर्मीसहित करिब १५ सय जन्तीलाई भोज खुवाएँ ।’ दहेज नलिएपनि भोज र विविध खर्च जोड्दा अन्दाजी १५/१६ लाख रुपैया यो विवाहमा खर्च भएको उनले थपे ।
विवाहमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सरिक भए । उनीसंग श्रीमति सिता दाहाल पनि थिइन् । श्रीमती लिएर पुगेका प्रधानमन्त्री प्रचण्डले विवाह बन्धनमा बाँधिएका नव बरबधुको हातमा फूलको गुच्छा दिदै बधाई दिए । उनले छोटो सम्बोधन पनि गरे ।
उनले भने, ‘दाइजो बिनाको प्रगतिशीत विवाह उदाहरणीय र प्रशंसनीय छ । दाईजोका कारण धेरैले छोरीको विहे गर्न नसक्ने अवस्था आउने गर्छन् । त्यसैले दाइजो प्रथा उन्मुलन गर्न जरुरी छ ।’
उर्जामन्त्री जनार्दन शर्मा, कानूनमन्त्री अजयशंकर नायक, पूर्वमन्त्रीद्धय विश्वनाथ साह र रामकुमार यादब, कांग्रेस नेता तथा सांसद अभयकुमार यादब लगायतका नेताहरुको सहभागीता रहेको थियो । उनीहरुले पनि दुलाहा–दुलहीलाई बधाई तथा सुखमय दाम्पत्य जीवनको शुभकामना दिए ।