सप्तरी । पातो गाविस–६ की एक महिलाले तीन वर्षीय भतिजाको घाँटी निमोठेर हत्या गरेकी छिन् । घरायसी विवादमा आइतबार अपराह्न २५ वर्षीया उर्मिलादेवी मण्डलले भतिजा रामअवतारको घाँटी निमोठेर हत्या गरेकी हुन् ।
घरमा बालबालिका मात्रै रहेको मौका पारेर उर्मिलादेवीले रामअवतारको घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए । प्रहरीले आइतबारै उर्मिलादेवीलाई हिरासतमा लिएर सोमबार सप्तरी जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा आवश्यक म्याद थप गराई अनुसन्धान थालेको छ ।
ससुरा रामदेव आइतबार बिहानै इँटाभट्टामा काम गर्न गएका थिए । सासु वीणादेवी भने घरमै थिइन् । जेठानी चन्द्रिका साँझका लागि चुलो बाल्न नजिकैको फूलबारीमा सुकेका पात संकलन गर्न गएकी थिइन् । त्यही मौका छोपेर उर्मिलाले रामअवतारको घाँटी निमोठेर हत्या गरेको प्रहरीले जनाएको छ । उर्मिलाले भतिजाको शव पुरानो साडीमा पोको पारेर सेतो प्लास्टिकको बोरामा बा“धी घर पछाडिको रूखमुनि लुकाएर राखेकी थिइन् । दिउँसो दुई बजेतिर फूलबारीबाट पात लिएर घर फर्केकी चन्द्रिकाले दूध खुवाउन छोरा खोजिन् । छरछिमेक कतै फेला नपरेपछि उनी छोरा खोजी गरिदिन भन्दै इलाका प्रहरी कार्यालय पातो पुगिन् ।
चन्द्रिका र आफन्तजनले रामअवतारको खोजी गरिरहेकै अवस्थामा पाँच रुपैयाँ दिनुहुन्छ भने रामअवतार कहाँ छ देखाइदिन्छु भनी उर्मिलाकै छोराले भने । साँझ चार बजे घरपछाडिको आँपको रूखमुनि प्लास्टिकको बोरामा रामअवतारको शव भेटियो । शव भेटिएपछि इलाका प्रहरी कार्यालय पातो र जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी अनुसन्धानका लागि काकी उर्मिलादेवीलाई हिरासतमा लिएको थियो ।
मृतक बालकका बुवा धर्मदेव र काका अशोक लामो समयदेखि भारतको मुम्बईमा सिलाइकटाइको काम गर्दै आएका छन् । पछिल्लोपटक दुवै दाजुभाइ चार–पाँच महिनासम्म गाउँमै बसेर खेतीपाती गरी एक साताअघि मात्र पुनः मुम्बई फर्किएका छन् । दाजु–भाइ मुम्बई हिँडेपछि घरमा धर्मदेवकी श्रीमती चन्द्रिका र अशोककी श्रीमती उर्मिलाबीच छोराछोरीको विषयमा विवाद भएको थियो । उर्मिलाका एक छोरा छन् भने चन्द्रिकाका दुई छोरा थिए । उर्मिलाले चन्द्रिकालाई शनिबार भएको भनाभनमा ‘तेरा दुई छोरा छन् भनेर धाक नलगा, एउटामा सीमित गरिदिन्छु’ भनेकी थिइन् ।
भनाभनको रिस नमरेपछि उर्मिलाले आइतबार घरमा बालबालिका मात्र भएको मौका छोपेर जेठानी चन्द्रिकाको कान्छो छोरा रामअवतारको घाँटी निमोठेर हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरी हिरासतमा रहेकी उर्मिलाले पनि आफूले भतिजालाई मारेको स्वीकार गरेको प्रहरी निरीक्षक विजय श्रेष्ठले जानकारी दिए । केही दिनयता उर्मिलाका ससुरा रामदेव र सासू वीणादेवीसँग पनि सामान्य भनाभन हुन थालेको बताइएको छ ।
-नयाँपत्रिकाबाट