ड्यालस (टेक्सस), अमेरिका- मान्छेको भविष्य असाध्यै अनिश्चित हुन्छ । कहाँ जन्म हुन्छ र कहाँ पुगेर, कस्तो अवस्थामा मान्छेको अन्त्य हुन्छ कसैलाई पत्तो हुँदैन । यस्तै भयो राजमणि चौधरीको हकमा पनि ।
सन् १९८० मा चितवनको बैरनीमा जन्मेका चौधरीले सात समुद्रवारि अमेरिकाको टेक्ससको ड्यालसमा भौतिक शरिर त्यागे । सोमबार राति ड्यालसको प्लानोस्थित अस्पतालमा भौतिक शरिर त्यागेका चौधरीलाई विहीबार बिहान परिवार, आफन्त, साथीभाईहरुले शवदाहगृहमा भावपूर्ण विदाई गरेका छन् ।
सन् २००८ देखि अमेरिका बस्दै आएका चौधरीको मस्तिष्कघातको उपचारको क्रममा निधन भएको थियो । गत जनवरी ११ तारिकमा अकस्मात मस्तिष्कघात भएपछि चारसाता लामो उपचार गरिएको थियो ।
चौधरीको विदाईको क्रममा विहीबार बिहान ड्यालस र वरपरका ठूलो संख्यामा रहेका नेपाली समुदायको उपस्थिती थियो । एनआरएन अमेरिका, नेपाली समाज टेक्सस लगायतका ड्यालस विभिन्न संघसंस्थाहरुको पहलमा सहयोग संकलन गरेर शवदाहगृहमा जलाइएको थियो ।
शवदाह गर्नु अघि नेपाली मन्दिरका मुख्य पुरोहित डा.शेखर पण्डितले हिन्दु परम्परा अनुसार कार्यहरू गर्नुभएको थियो । शवदाहगृहको शुल्क र परिवारको सहयोगका लागि नेपाली समाज टेक्ससको आह्वानमा ‘गो-फण्ड’ मा खाता खोलेर सहयोग संकलन गरिरएको छ ।
थारु परम्परा अनुसार उनको किरिया लगायतका कार्यहरु भने नेपालमै गएर गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि शुक्रबार दुई छोरा, पत्नी, माता पिता समेत नेपाल जाँदैछन् । चितवनको देबघाटमा अस्तु बिसर्जन गरेपछि थारु परम्परा अनुसार १२ दिनको किरिया सुरु हुने स्व चौधरीका पिता मंगरा महतोले कुराकानीको क्रममा बताए ।