पत्रकार महासंघ कास्कीमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

पत्रकार महासंघ कास्कीमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु
समाज

पोखरा । नेपाल पत्रकार महासंघ कास्कीमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । विहिवारदेखि सुरु भएको १० औं महाधिवेशन अन्तर्गत शुक्रवार विहान साढे ८ बजेबाट मतदान सुरु भएको हो ।

निर्वाचन तालिका अनुसार मतदानको समय मध्यान्ह १२ बजेसम्म तोकिएको छ । मतदानको लागि १० वटा मतपेटिका राखिएको छ । पत्रकार महासंघ कास्कीमा ३११ जना मतदाता छन् । नयाँ नेतृत्वका लागि दुई वटा प्यानल चुनावी प्रतिश्पर्धामा छन् । अध्यक्षमा प्रेस चौतारीको तर्फबाट दीपेन्द्र श्रेष्ठ र प्रेस युनियनको तर्फबाट रमेश पौडेल छन् ।

महासंघको खुल्ला एक उपाध्यक्षमा दुई जना छन् । जस अनुसार त्रिभुवन पौडेल र यदुनाथ बञ्जाराले उमेदवारी दर्ता गराएका छन् । एक जना महिला उपाध्यक्षको लागि तीन जनाको उमेदवारी परेको छ । महिला उपाध्यक्षमा विमला भण्डारी, स्मिता अधिकारी र इश्वरी पौडेलले उमेदवारी दर्ता गरेका छन् ।

सचिवमा राम प्रसाद तिमल्सिना र वासु मिश्रविच प्रतिश्र्धा हुने भएको छ । कोषाध्यक्षमा वसन्तराज अधिकारी र सञ्जय मल्लले उमेदवारी दर्ता गराएका छन् । सहसचिवमा खुल्ला तर्फ दीनानाथ बराल र फडिन्द्र अधिकारी अकिञ्चन तथा समावेशी तर्फ दीपक परियार र भूपाल गुरुङले उमेदवारी दर्ता गराएका छन् ।

खुल्ला ८ सदस्यको लागि १७ जना विच प्रतिश्पर्धा हुदैछ । एक जना समावेशी जनजाति सदस्यका लागि दुई जनाको उमेदवारी परेको छ भने महिला सदस्यमा पनि दुई जनाले उमेदवारी दर्ता गराएका छन् । अल्पसंख्यक सदस्यमा जैनव खातुन र दलित सदस्यमा रेम विक निर्वारोध भएका छन् ।

खुल्ला २४ केन्द्रिय पार्षदका लागि ५२ जना उमेदवार छन् । सात महिला केन्द्रिय पार्षदका लागि १४ जनाको उमेदवारी परेको छ । ४१ प्रदेश पार्षदका लागि ३८ जनाको मात्रै उमेदवारी परेपछि निर्विरोध भएको छ ।

चुनावी समिकरणको हिसावले अहिलेसम्म श्रेष्ठ पक्षको संभावना बलियो देखिएको छ । प्रेस चौतारी, प्रेस सेन्टर, प्रेस सोसाईटी र क्रान्तिकारी पत्रकार संगठनको संयुक्त गठबन्धनको नेतृत्व श्रेष्ठले गरेका छन् । पौडेलले प्रेस युनियन र स्वतन्त्र पत्रकार महासंघको प्यानलबाट प्रतिश्पर्धा गर्दैछन् ।

मतदान सकिएलगतै मतगणनाको काम सुरु हुने र आजै साझ सम्म नतिजा आउने अनुमान गरिएको छ । निर्वाचनबाट आगामी तीन बर्षे कार्यकालका लागि १९ सदस्यिय कार्यसमिति चयन हुनेछ ।

Post Comment