काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल (एयरपोर्ट)बाट फेरि अवैध सुन बरामद भएको छ । डेढ किलो सुनसहित दुबईमा जन्मिएका भारतीय मूलका नागरिक कश्यप कान्तिलाल पक्राउ परेका हुन् । बरामद सुनको बजार मूल्य ७१ लाख ६३ हजार रुपैयाँ रहेको छ ।
एअर अरेबियाको विमानबाट आइतबार दिउँसो १२ बजे काठमाडौं उत्रेका कश्यपको साथबाट भन्सार अधिकारीहरुले त्यतिका धेरै सुन बरामद गरेका हुन् । उनले आधारआधा किलो तौलको दुईवटा सिक्री र आधा किलो तौलको सुनको बाला नै लगाएर आएका थिए ।
भन्सार स्रोतका अनुसार डेढ किलो सुन लगाएर आएका उनले अस्वभाविक गतिविधि देखाएका थिए । एक भन्सार अधिकारीले भने, ‘लगेजमा ल्याउँदा चेकजाँच हुने डरले यस्तो तरिका अपनाएको देखिन्छ ।’
कान्तिलालको पासपोर्टमा देखिएको यात्रा विवरण हेर्दा उनी पटक पटक दुबई काठमाडौं ओहोरदोहोर गरेको देखिन्छ । सन् २०१६ को जुलाईमा उनी काठमाडौं आएका देखिन्छ भने गत ६ फेब्रुअरीमा काठमाडौंबाट दुबई नै गएको देखिन्छ ।
स्रोतका अनुसार काठमाडौं र दुबईको बारम्बारको उनको यात्रा र त्यतिका धेरै सुन बरामद हुनुले उनको सम्बन्ध अवैध सुन तस्करहरुसँग हुन सक्ने देखिन्छ । भारतको अहमदावाद ठेगाना बताउने कान्तिलालसँग संयुक्त अरब ईमिरेट्सको नै पासपोर्ट छ ।