बागलुङ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का नेता रामबहादुर थापा बादलले संविधान संशोधन प्रक्रिया छिट्टै टुङ्गोमा पुग्ने स्पष्ट पारेका छन्।
प्रेस सेन्टर नेपाल बुर्तिबाङ एकाइ बागलुङले आइतबार गरेको पत्रकार भेटघाटमा नेता थापाले आउँदो संसद् बैठकबाट प्रक्रिया थप अघि बढ्ने उल्लेख गरे ।
उनले संविधान संशोधनको विरुद्धमा रहेको प्रमुख प्रतिपक्षी दलको समेत सहयोगमा प्रक्रिया अघि बढेको बताए। “संशोधन प्रस्तावलाई प्रक्रियामा लान एमाले समेत सहमत बनेको छ” नेता थापाले भने “मधेसको मुद्दालाई न्यूनतम रुपमा भए पनि सम्बोधन गर्न सबै दल तयार देखिएका छन् ।”
सरकारद्वारा घोषित निर्वाचनलाई सफल पार्न सबै दल र नागरिक समाजले सकारात्मक भूमिका खेल्नुपर्ने उनको भनाइ छ । नेता थापाले निर्वाचनमा जानुबाहेकको अन्य कुनै विकल्प नभएको हुँदा मधेसवादी दललाई जिम्मेवार हुन आग्रह गरे।
सङ्घीय आयोग बनाएर सीमाङ्कनको विवाद टुङ्गाउने विषयमा सबै दल सैद्धान्तिक रुपमा सहमत देखिएको उनको भनाइ छ ।