काठमाडौं। नेपालका लागि भारतीय राजदुत रञ्जित राय आज आफ्नो साँढे तीन वर्षे कार्यकाल सकेर आज स्वदेश फर्किँदैछन्।
उनको विदाईमा करिब एक महिना अघि देखि नै विदाई कार्यक्रमहरु भएका थिए। विदाईमा समारोहमा सरिक हुन उनलाई एक महिनादेखि भ्याई नभ्याई थियो। उनको सम्मानमा राजनीतिक दल, सामाजिक संस्थाले रात्रिभोज र दिवाभोज नै आयोजना गरेका थिए। यो वीचमा उनी अभिनन्दित भए। उनले भन्ने गरेका थिए,‘विहान ५ बजेदेखि रातिसम्मै विदाई कार्यक्रममै भाग लिनुपर्यो, लाग्दैछ मेरो लामो विदाई हुँदैछ।’
राजदुत राय २०७० साल भदौ १३ गते काठमाडौंमा नेपालका लागि भारतीय राजदूतका रुपमा आएका उनी आएका हुन्। उनको कार्यकाल आज फागुण १७ गते सकिएको छ। र उनी आज स्वदेश फर्किँदै छन्। उनको कार्यकालमा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध निकै उचाईमा पुगेको छ। उनले द्धिपक्षीय सम्बन्धलाई परस्पर हितमा उपयोग गरे। राजदुत राय अत्यन्तै शालिन तथा मिलनसार भएर प्रस्तुत भए। हुन त उनको विशेषता नै शालिन कुटनीतिज्ञ हो।
राजदुत रायको कार्यकालमा द्धिपक्षीय उच्चस्तरीय भ्रमणहरु समेत भए। यसको जस पनि उनैलाई जान्छ। उनको कार्यकालमा भारतीय राष्ट्रपति प्रणव मुखर्जी, प्रधानमन्त्री नरेन्द्र मोदी, परराष्ट्रमन्त्री सुष्मा स्वराज, गृहमन्त्री राजनाथ सिंहले नेपाल भ्रमण गरे। भारतीय प्रधानमन्त्री मोेदीले त दुई पटक नेपाल भ्रमण गरे। खासगरी १७ वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरे। त्यसको ६ महिना पनि नबित्दै मंसिरमा काठमाडौंमा भएको १८ औं सार्क सम्मेलनमा भाग लिन मोदी दोस्रो पटक नेपाल आए। उनले नेपालको संसदमा नेपालीहरुको मन जित्ने भाषण नै गरे। उनको उक्त भाषणलाई सम्पूर्ण नेपालीहरु खुबै रुचाएका थिए।
राजदुत राय नेपाल आए लगत्तै २०७० मा संविधान सभाको दोस्रो निर्वाचन भएको थियो। उनको कार्यकालमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले २०७३ साल कार्तिकमा नेपाल भ्रमण गरे। त्यस्तै नेपालबाट पनि प्रधानमन्त्रीका रुपमा काँग्रेस सभापति शुशिल कोइराल, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डले पनि भारत भ्रमण गरे। अझै भन्ने हो भने वर्तमान प्रधानमन्त्री प्रचण्डले त दुई पटक भारत भ्रमण गरेका छन्।
उनको कार्यकालमा हालका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत ६ पटक भारत गए। त्यस्तै केपी ओली नेतृत्वको सरकारका परराष्ट्रमन्त्री कमल थापा ५ चोटी भारत पुगे। त्यस्तै सुशिल कोइराला नेतृत्वको सरकारका परराष्ट्रमन्त्रप् महेन्द्र बहादुर पाण्डे ३ पटक भारत पुगे
उनकै कार्यकालमा नेपाल–भारत प्रवुद्ध समूह बन्यो। जसको बैठक दुई पटक बसिसक्यो। एक पटक नेपालमा र अर्को पटक भारतमा। यसले द्धिपक्षीय सम्बन्धका समस्याहरु समाधान गर्ने, सन्धि,सम्झौताहरु पूनरावलोकन गर्ने लगायतको काम गर्नेछ।
यी सबै कुरा हेर्दा उनको कार्यकाललाई सफल रुपमा लिईन्छ। उनले द्धिपक्षीय सम्बन्धलाई विश्वासमा लिने बाहेक आर्थिक कुटनीतिलाईपनि उतिकै जोड दिए। उनले विभिन्न विकासका परियोजनाहरुको समेत खाका कोरेका थिए। खासगरी नेपाल–भारतबीचमा बिगतमा भएका सहमति/समझदारी कार्यन्वयन नभईरहेको अवस्थामा उनले त्यो जामलाई खुलाउने काम गरे। भारतले प्रोजेक्ट लिने तर समयमै सम्पन्न नगर्ने भन्ने आरोप लागिरहेको बेलामा उनले द्धिपक्षीय विकासका परियोजनाका सम्झौताहरु कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरे।
प्रधानमन्त्री दाहालको दिल्ली भ्रमणमा भएको सहमति अनुसार विकाससम्बन्धी काम गर्न संयुक्त संयन्त्र चालू गर्न, हुलाकी राजमार्ग निर्माण गर्न, अरुण तेस्रो निर्माणदेखि पञ्चेश्वर आयोजनाको डिपीआर तयार गराउन राजदूत रेले सक्रिय भूमिका खेलेका छन्।
राजदुत रायले रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा समेत पटक पटक भनेका थिए,‘नेपाल अशान्त र अस्थिरत भए यसले भारतलाईपनि हि तगर्दैन, त्यसैले हामी दुवै देश काँधमा काँध जोडेर विकासका परियोजनाहरुमा साझेदारी गर्दै अघि बढ्नुपर्छ, २१ औं शताब्दी भनेको एशियाको शताब्दी हो, अब विकास गर्नुपर्छ।’ उनको पालामा विकाससम्बन्धी उल्लेखनीय उपलब्धी हाँसिल भएका छन्।
त्यस्तै राजदुत रायले भारतीय नाकाबन्दी हटाउनको लागि पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। उनले सक्रिय रुपमा नाकाबन्दीपछि नेपाल–भारत सम्बन्ध सहज बनाउन भूमिका खेलेका हुन भन्ने कुरामा दुई मत छैन। यो वीचमा उनी पटक पटक भारत गए। भारतीय उच्चस्तरीय नेताहरुसँगपनि उनले नेपालको हित, विकास र साझेदारीमै जोड दिएका थिए।
उनको कार्यकालमा नेपालका विकासमा धेरै कामहरु अघि बढे। रोकिएका प्राजेक्टहरु सूचारु भए। स्वास्थ्य, शिक्षा, खानेपानी, पूर्वाधार, हुलाकी राजमार्ग, सडक पूर्वाधार लगायतका धेरै कामहरु सम्पन्न गरे। उनको कार्यकालमा विकासका गुरुयोजनाहरु सार्वजनिक भए। नेपालप्रति भारतीय आर्थिक सहयोग पनि बढ्यो। उनले सम्पूर्ण नेपालीहरुसँग आत्मियता गाँसे।
त्यसैले होला उनको विदाईमा सरिक हुनेहरु निकै भावुक बने। उनको विदाई गर्नेहरुले पनि मन बाँधेर विदाई गरे। नेपालमा ०७२ साल बैशाखमा गएको महाभुकम्पको बेलामा भारतले ठूलो सहयोग गर्यो, त्यसको जसपनि उनै राजदुत रायलाई जान्छ। उनले भारतबाट साधनस्रोतदेखि विभिन्न सहयोग जुटाए।
उनी सफल राजदुत भएर फर्किँदैछन्। जाँदाजाँदै उनले पत्रकार ऋषि धमलासँग भने,‘म जुन उत्साह बोकेर नेपाल आएको थिएँ, त्यही अनुसार काम गरें, नेपालका सबै जिल्लामा करिब करिब पुगेको छु, नेपाली जनताले दिएको माया सदैव स्मरणीय छ, म भारतमा रहँदापनि मेरो मन नेपालमै हुनेछ, म सदैव नेपालको विकास र हितको लागि काम गर्नेछु।’
राजदुत राय विदाई भएसँग दुतावासको नेतृत्व डिसिएम विनय कुमारले सम्हाल्ने भएका छन्। विनय कुमार पनि अत्यन्तै सफल कुटनीतिज्ञ हुन्। भारतले अहिले रायको ठाउँमा कसलाई राजदुत बनाएर पठाउने भन्ने कुरा टुँगो लगाएको छैन। यस्तो अवस्थामा एक महिनासम्म पनि राजदुतको नाम फाईनल नहुन सक्छ। त्यतिवेला दुतावासको नेतृत्व विनय कुमारले नै सम्हाल्नेछन्।