स्वबियु निर्वाचन नगर्न आयोगको पत्र

स्वबियु निर्वाचन नगर्न आयोगको पत्र
समाज

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित स्ववियु निर्वाचन गर्न नपाउने भन्दै त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराएको छ ।

आरआर क्याम्पस लगायतका सबै क्याम्पसहरुमा स्ववियु चुनाव स्थगित गर्न आयोगले पत्राचार गरेसंगै स्ववियु निर्वाचन स्थगित भएको हो । निर्वाचन आयोगले २४ घण्टाको अवधिमा दोस्रो पत्र लेखेर आचारसंहिता लागू भइसकेको तर्फ त्रिभुवन विश्वविद्यालयको पुनः ध्यानाकर्षण गराएपछि स्ववियु चुनाव स्थगित भएको हो ।

आयोगले आइतबार पनि निर्वाचन आचारसंहिता लागू भइसकेको भन्दै चुनाव नगराउन त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गरेको थियो ।

निर्वाचन आयोगले भन्यो, “अब स्ववियु चुनाव गर्न पाइँदैन” तर, एमाले निकट अनेरास्ववियुले पूर्वनिर्धारित कार्यक्रम भएकाले स्ववियु चुनावलाई आचारसंहिताले नछुने तर्क गर्दै आज स्ववियु चुनाव गराउन माग गरेको थियो ।

त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षलाई सम्बोधन गर्दै आयोगले आचारसंहिता लागू हुने मिति सम्बन्धमा सोमबार पुनः पत्र लेखेको छ, जसमा ‘उम्मेदवारको हकमा मनोनयन दर्ता भएको मिति २०७४÷०१÷१६ देखि लागू हुनेछ । अन्य बिभिन्न व्यक्ति, निकाय तथा अधिकारीलाई मिति २०७३÷११÷१८ देखि लागू हुनेछ,’ उल्लेख छ ।

अनेरास्ववियुका नेताहरुले भने निर्वाचनमा कुनै समस्या नरहेको दावी गर्दै आफू निकट विद्यार्थीहरुलाई मतदानका लागि सोमबार क्याम्पसमा बोलाएका थिए । स्ववियु चुनावको लागि भन्दै आरआरमा सोमबार बिहानैदेखि विद्यार्थीहरु भेला भएका थिए ।

तर, कांग्रेस निकट नेविसंघ र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले भने क्याम्पसलाई सुरक्षाकर्मीको ब्यारेक जस्तो बनाएर अनेरास्ववियुले एकतर्फीरुपमा चुनावी प्रक्रिया अघि बढाएको भन्दै विरोध प्रदर्शन गरेका थिए । विद्यार्थी संगठनहरु एकअर्काको विरोधमा उत्रिएकाकारण तनावको स्थिति सिर्जना भएको थियो ।

 

Post Comment