भारतीय सीमा सुरक्षाबल एसएसबीको गोली लागेर निधन भएका कञ्चनपुर पुनर्वासका गोविन्द गौतमका परिवारलाई चीनको विशेष आर्थिक क्षेत्र मकाउबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
मकाउमा रहेका विभिन्न नेपाली संघसंस्थाले सहिद गौतमका आश्रित परिवारलाई ४० हजार रुपैयाँ सहयोग प्रदान गरेका हुन् । मकाउस्थित प्रवाशी नेपाली एकता समाजका सचिव तथा सुदूरपश्चिमेली समाजका संयोजक पदमसिंह पन्तले सहिद गौतम पत्नी लक्ष्मी र आमा हरिदेवीलाई घरमै पुगेर राहत रकम हस्तान्तरण गरे ।
पन्तले यस वर्षको फागु पूर्णिमामा होली खेल्न संकलन गरिएको रकम होलीमा खर्च नगरी सहिद गौतमका परिवारलाई दिइएको बताए । राष्ट्रियता रक्षाका लागि विदेशी सुरक्षाकर्मीको गोलीबाट निधन भएका सहिदको योगदानको कदर स्वरुप आर्थिक सहयोग गरिएको पन्तले बताए ।